अब साना तथा मझौला व्यवसायीलाई डिजिटल माध्यमबाटै बिनाधितो १० लाखसम्म ऋण
setopati.com · Mon Jun 08 12:57:25 GMT 2026

लघु, साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन्।
यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रूपैयाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन।
डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीलाई १० लाखसम्मको ऋण डिजिटल माध्यमबाटै दिने व्यवस्था नयाँ मार्गदर्शनले गरेको छ।
एक वर्ष अवधिको अल्पकालीन चालु पुँजी कर्जाका रूपमा भने यी व्यवसायीले पाँच लाख रूपैयाँसम्म प्राप्त गर्ने भएका छन्।
अहिले पनि तलबी खाता हुने ग्राहकले तीन वर्षका लागि पाँच लाख रूपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै प्राप्त गर्दै आएका छन्।
तलब खाता बाहेक अन्य खाता हुने सर्वसाधारण ग्राहकले भने तीन वर्षका लागि दुई लाख रूपैयाँसम्म कर्जा पाइरहेका छन्।
ग्राहकले डिजिटल माध्यमबाट गरेको कारोबार विवरण, भुक्तानी विवरण लगायत व्यवसाय सम्बन्धी अन्य विवरणका आधारमा यस्तो कर्जा दिइनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिप्रदायक संस्थाहरूसँग सहकार्य गर्न सक्ने व्यवस्था गरिएको छ।
यसमा हुने जोखिमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाले नै गर्नु पर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)