बिरामी पर्न थाले मिटरब्याजपीडित
ekantipur.com · Wed Sep 14 00:57:34 GMT 2022
काठमाडौँ — न्यायका लागि करिब डेढ महिनादेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरू बिरामी पर्न थालेका छन् । किशोरदेवी चमार र मैना कुहार मंगलबार आन्दोलनमा जान सकेनन् । किशोरदेवी ज्वरोले थलिएकी छन् भने बाथरोगपीडित मैना सोमबारको प्रहरी धरपकडपछि राम्ररी हिँडडुल गर्न सकेकी छैनन् ।
कीर्तिपुर सल्यानथानस्थित अस्थायी टहरामा ७० जना मिटरब्याजपीडित बस्दै आएका छन् । चिसो भुइँमा पातलो म्याट्रेस बिछ्याएर रात काट्नुपर्दा झनै सकस भएको उनीहरूको भनाइ छ । न्यायका लागि प्रत्येक घरबाट एक–एक जना पीडित आन्दोलनमा सहभागी हुन आएको संघर्ष समितिले जनाएको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–५ श्रीरामपुरकी ६० वर्षीया किशोरदेवीले १० वर्षअघि छोरालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाउन स्थानीय जगदीश बानियाँसँग १ लाख ८० हजार रुपैयाँ ऋण लिएकी थिइन् । बानियाँले ४ लाख रुपैयाँको तमसुक बनाए । ‘छोरालाई विदेश पठाउनु थियो, बैंकले पत्याएन । बाध्य भएर तमसुकमा सहीछाप गरी ऋण लिएँ,’ उनले भनिन् । उनले एक वर्षमै ५ लाख ६० हजार बुझाइन् तर साहु बानियाँले तमसुकको आडमा किशोरदेवीको परिवारलाई ताकेता गरिरहे । ‘१५ कट्ठा जग्गा दृष्टिबन्धक गरिदिएको छ, अझै १० लाख रुपैयाँ मागेको छ,’ उनले भनिन्, ‘माग गरेजति रकम नदिए जग्गा लिलाम गरिदिने धम्की दिइरहेको छ । जग्गाको कागज पनि ऊसँगै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)