नेपाल टेलिकमले फिफा विश्वकप टीभी प्याकेज उपलब्ध गराउने
lokaantar.com

नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा विश्वकप २०२६ टीभी प्याकेज ’ उपलब्ध गराउने भएको छ ।
विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै आईपीटिभी ग्राहकका लागि फिफा विश्वकप २०२६ टीभी प्याकेज उपलब्ध गराउने भएको हो ।
यस अन्तर्गत सम्पूर्ण आईपीटीभी ग्राहकले ९९९ रूपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
एनटीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ ।
उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटीपी प्राप्त हुनेछ । सो ओटीपी टीभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रूपैयाँ कट्टा भई प्याकेज तुरुन्त सञ्चालन हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।
आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको Internet with Premium IPTV package नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकले फिफा विश्वकप २०२६ टीभी प्याकेज बोनसको रूपमा नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।
उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।
उनका अनुसार नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध छ । थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा