मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत किस्ताबन्दीमा क्रेडिट कार्ड सुविधा

arthadabali.com · Mon Jun 08 13:55:14 GMT 2026

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर बीच ग्राहकलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा ‘अन-द-फ्लाई ईएमआई’ (किस्ताबन्दी) सुविधा उपलब्ध गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने तथा ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यअन्तर्गत भाटभटेनीका सबै स्टोरहरूबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले तत्कालै किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार ग्राहकहरूले ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ता अवधि छनोट गर्न सक्नेछन् भने यस योजनामा कुनै अतिरिक्त ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन। साथै, कुनै कागजी प्रक्रिया बिना नै डिजिटल रूपमा सुविधा उपलब्ध हुनेछ।

यस योजनाले विशेषगरी इलेक्ट्रोनिक्स तथा ठूला मूल्यका सामान खरिद गर्ने ग्राहकलाई आर्थिक भार कम गर्दै योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

यसै सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरूको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ‘ग्लोबल बीबीएसएम क्लब कार्ड’ जारी गरिने भएको छ। यस कार्डमार्फत १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा उपलब्ध हुनेछ।

कार्ड प्रारम्भिक चरणमा भाटभटेनी तथा सम्बन्धित नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ। ग्राहकले विशेष छुट, अफर तथा भविष्यमा आउने विभिन्न योजना तथा रिवार्ड सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।

बैंक र भाटभटेनीले आगामी दिनमा संयुक्त रूपमा थप क्यासब्याक, छुट तथा ग्राहक केन्द्रित योजनाहरू सञ्चालन गर्ने योजना बनाएका छन्। उक्त प्रणालीको प्राविधिक साझेदारको रूपमा आईएमएस सफ्टवेयर प्रा.लि. रहेको छ।

ग्लोबल आइएमई बैंकले देशभर ३४४ शाखा, ३६८ एटिएम तथा १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।

सम्बन्धित विषय:

# ग्लोबल आइएमई बैंक

# भाटभटेनी

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)