लम्बिँदो निषेधाज्ञा
rajdhanidaily.com · Wed May 26 23:28:46 GMT 2021
कोरोना महामारीको संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाको समय लम्बिँदै गएको छ । यसको अर्थ महामारी संक्रमण र त्यसबाट हुने मृत्युुदरमा कमी आउन सकिरहेको छैन । निषेधाज्ञाको उद्देश्य महामारी संक्रमण विस्तारलाई रोक्नु र मृत्युदर कमी ल्याउनु हो । यसमा सरकार, सरकार मातहतका निकाय, निजी स्वास्थ्य संघसंस्था तथा जनस्वास्थ्यसँग सम्बन्धित सबै निकाय तथा व्यक्तिको क्रियाशील भूमिकाको अपेक्षा गरिएको छ र थियो पनि । तर, सबै निकायबाट अपेक्षित भूमिका निर्वाह हुन नसक्दान कोरेना संक्रमण विस्तार र संक्रमित बिरामीको मृत्युदरमा कमी नआएर बरु बढ्न पुग्यो । यसै कारणले पनि छोटो समयका लागि भनी जारी गरिएको निषेधाज्ञा लम्बिन पुग्यो । निषेधाज्ञा लम्बिन पुगे पनि संक्रमण विस्तार, रोकथाम र मृत्युदरमा कमी आउन भने सकेन । त्यो सबैका लागि दुःखद कुरो मात्र नभई आत्मसमीक्षा र मूल्यांकनको कुरो हो । यस किसिमको आत्मसमीक्षा र मूल्यांकनमा सरकारलगायत विभिन्न संघसंस्था र आमजनसमुदायसमेत छट्नुहुँदैन । यसले ग-यो उसले गरेन भन्ने कुरो नभई यो सबैको उत्तिकै जिम्मेवारीको कुरो हो ।
निषेधाज्ञाको समय लम्बिँदा सबैलाई सकस हुन गएको छ । र, सबैलाई अप्ठ्यारो पनि महसुस हुन थालेको छ । तर, नेपाली जनमानसको प्रवृत्तिमा बदलाव आएन । चोकहरूमा, पसलमा र चौबाटो तथा चौपारीमा भिडभाड गर्ने प्रक्रिया रोकिएन । समय काट्न गाह्रो भयो भनेर कोठामा जम्मा भएर तास खेल्ने, मदिरा सेवन गर्ने र फिल्म हेर्ने जमघटमा कमी आएन । यसले बाहिर मानिसको रोकथाम भएजस्तो तर टोलटोलमा नदेखिने गरी भिडभाड चलिरहेको अवस्था देखियो । कोारेना संक्रमणको दोस्रो लहर व्यापक बन्दै जाँदा राजनीतिक पार्टीहरूले भेला, सम्मेलन, जमघट र भाषण जारी राखे । यसले पनि महामारी संक्रमणको फैलावटलाई बल दिन पुग्यो । मानिसले कतिपय स्थानमा कोरोना संक्रमणको दोस्रो लहर बढी घातक र ज्यान लिने खालको छ भन्ने बुझ्न सकेनन् । लापर्बाही, देखासीखी, मनोगत आत्मविश्वास, राजनीतिक पूर्वाग्रह तथा आफूले पनि केही जान्ने मानसिकताले गर्दा संक्रमण रोकथामले सामूहिक प्रयास स्वरूप ग्रहण गर्न सकेन । फलतहः महामारी संक्रमण कुनै व्यक्ति विशेष, दल विषेश, स्वास्थ्य निकाय विशेष वा व्यापारको जस्तो विषय बन्न पुग्यो । यो सर्वाधिक दुःखद कुरा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)