मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा

newsofnepal.com · Mon Jun 08 15:05:46 GMT 2026

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

दुई संस्थाबीच भएको सम्झौताअनुसार भाटभटेनीका सबै स्टोरबाट खरिद गर्ने ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले ‘अन–द–फ्लाई ईएमआई’ सुविधा प्राप्त गर्नेछन्। यस अन्तर्गत न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकले अतिरिक्त कागजी प्रक्रिया बिना नै किस्ताबन्दी सुविधा लिन सक्नेछन्।

ग्राहकले ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी खरिद रकम भुक्तानी गर्न सक्नेछन्। बैंकका अनुसार यस योजनामा ग्राहकलाई कुनै ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।

यो सुविधा विशेषगरी इलेक्ट्रोनिक्स तथा महँगा सामग्री खरिद गर्ने ग्राहकका लागि लाभदायक हुने विश्वास गरिएको छ। यसले तत्काल आर्थिक भार कम गर्नुका साथै योजनाबद्ध भुक्तानी गर्न सहज बनाउने बैंकले जनाएको छ।

सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ समेत जारी गरिने भएको छ। ग्राहकको कारोबार इतिहास र आर्थिक गतिविधिका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइने बैंकले जनाएको छ।

उक्त कार्डमार्फत ग्राहकले सहज भुक्तानी, विशेष छुट, अफर तथा विभिन्न ग्राहक केन्द्रित योजनाको लाभ लिन सक्नेछन्। प्रारम्भिक चरणमा भने कार्ड भाटभटेनी तथा त्यससँग सम्बन्धित नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ।

बैंकका अनुसार यस सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन, आधुनिक बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। आगामी दिनमा ग्राहक लक्षित छुट, क्यासब्याक, रिवार्ड तथा अन्य विशेष योजनासमेत सञ्चालन गर्ने तयारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय