मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको लिडरसिपले पनि खुलाएन संसद, सभामुखको प्रस्तावलाई विपक्षीले गरे संसदमै अस्वीकार

shilapatra.com · Mon Jun 08 15:16:08 GMT 2026

‘सुरुसुरु संसद भवन जाने, हाजिर गर्ने अनि खुरुखुरु घर आउने,’ रास्वपा सांसद आशिका तामाङले सोमबार सामाजिक सञ्जालमा यो क्याप्सनसहित प्रतिनिधिसभाको ब्याच लगाएको तस्वीर पोस्ट गरिन् । उनले संसद भवनमा हाजिर गर्न मात्र पाउँछिन् । उनी मात्र होइन प्राय सांसदको दैनिकी नै यस्तै बनेको छ । संसदको नियमित कारबाही अघि बढ्न सकेको छैन । कारण विपक्षीको अवरोध ।

१७ जेठमा आकस्मिक रूपमा प्रश्नोत्तर माग गरेर सांसदको जवाफ दिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले भारतको भूमि मिचेको भनिदिए । त्यसयता संसद शान्त हुन छोडेको छ । १८ जेठमा स्थगित गरिएको प्रतिनिधिसभा बैठक २५ जेठको लागि बोलाइएको थियो । यो बीचमा संसदको गतिरोध अन्त्य गर्न सत्तापक्ष र सभामुख दुवैले तत्परता देखाएनन् ।

एक हप्ताको समय संसद स्थगित गर्नुको कारणहरूमध्ये सत्तारुढ दल रास्वपाको जिल्ला अधिवेशन पनि थियो । सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई भेटेका थिए । उनले सदन खुलाउन सकारात्मक भूमिका खेलिदिन आङ्देम्बेसँग अनुरोध गरेका थिए । सो कामभन्दा अन्य पहल सभामुखबाट भएको थिएन ।

सभामुख अर्यालले सोमबारको बैठकमा विपक्षी दलका सबै सांसदका कुरा सुनेको र ध्यानाकर्षण भएको भन्दै सदनको नियमित कारबाही अघि बढाउन अनुरोध गरेका थिए । तर त्यसलाई विपक्षी दलका सांसदले सुनेनन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिकार नै गरे । ‘यतिका दिनसम्म संसद स्थगित गर्दा यतिका दिनसम्म उहाँले कुनै किसिमको वक्तव्य पनि निकाल्नुभएन । उहाँ आउनुभएको पनि छैन । आउने छाँटकाँट पनि छैन । हामी अरु कार्यसूचीमा प्रवेश गरौँ भन्ने खालको सभामुखज्यूको आग्रह रहेको छ यो हामी स्वीकार गर्न सक्दैनौँ,’ साम्पाङले भने । उनले प्रधानमन्त्री बालेनको जवाफ चाहिएको बताए ।

कांग्रेस सांसद सन्तोष सुब्बाले पनि ४ दिनदेखि संसद अवरोध गर्दा संवाद कहाँ पुग्यो भनेर प्रश्न गरे । संसद अवरुद्ध भइरहँदा पनि दलहरूबीच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएकोमा सुब्बाले असन्तुष्टि व्यक्त गरे । ‘हामीले ४ दिनदेखि संसद अवरुद्ध गर्दा संवाद कहाँ पुग्यो ? के–कस्तो छलफल भयो ? यसबारे हामीले जानकारी पाउनुपर्छ,’ सुब्बाले भने । संसद ढिलो प्रारम्भ भएको र समय निकै कम भएकाले गम्भीर विषयहरू ओझेलमा पर्न नहुने उनको भनाइ छ ।

सांसद सुब्बाले सभामुख अभिभावक भएकाले संसदलाई निकास दिनु सभामुखको दायित्व भएको बताए । ‘सभामुखलाई असफल हुने छुट छैन, तपाईंले हामीलाई डोर्‍याएर लैजाने हो । हाम्रा कमजोरी सच्याउन सकिन्छ, तर संसदलाई सुचारु गर्न तपाईंले ठोस पहल गर्नुपर्छ,’ उनले भने ।

विपक्षी फकाउने सत्ता पक्षको दाउ

सभामुख अर्यालले संसद लामो समय स्थगित गरेर उच्च तहबाट राजनीतिक पहल आवश्यक रहेको बुझेका थिए । त्यसैले उनले भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेलाई पर्खिए । लामिछानेले आइतबार प्रधानमन्त्री बालेनसँग भेट गरे । अनि साेमबार सर्वदलीय बैठक राखे । तर सर्वदलीय बैठकमा राजनीतिक दलका प्रमुख र उपप्रमुख बोलाइएको भए पनि कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भए पनि श्रम संस्कृति पार्टीले बहिष्कार नै गरेको थियो ।

बैठकमा रास्वपा सभापति लामिछानेले सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा आफू र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए । विपक्षी दलहरूले सो कुरा अस्वीकार गरेको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । ‘सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, परराष्ट्रमन्त्रीले जवाफ दिइसकेपछि आवश्यकता पर्‍यो भने मैले पनि जवाफ दिन्छु । तर, अहिले प्रधानमन्त्री आउन सक्नुहुन्न उहाँले भनिसकेपछि हामीले त्यसो हुँदैन, प्रधानमन्त्री आएर नै जवाफ दिनुपर्छ भन्दा बैठक सकियो,’ उनले भने ।

यस विषयमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सरकारका निकाय रहेको र प्रधानमन्त्री मातहतमा विभिन्न निकाय रहेकाले ती निकायले जवाफ दिए हुने तर्क गर्छन् । ‘सम्बन्धित मन्त्रीले नै सिंगो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको त्यसमा प्रधानमन्त्री सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दलको जवाफ हो,’ सोमबारको सर्वदलीय बैठकपछि बुर्लाकोटीले भने ।

रवि लामिछानेले बनाउन खोजेको माहौल

गत २१ फागुनको चुनावबाट रास्वपा पहिलो दल बनेपछि लामिछानेले सर्वदलीय बैठक राखेका हुन् । सदनको गतिरोध खुलाउन उनले पहल गरेको यो पहिलो पटक हो । यसअघिका संसद भन्दा यो पटकको संसद शीर्ष नेताको भूमिकाले फरक छ । विगतमा दलका नेतृत्वकर्ता संसदभित्रै हुन्थ्यो र सभामुखमार्फत पहल गर्दा दलको आवाज र संसदीय फाँटको आवाज एकैसाथ सम्बोधन हुने गथ्र्यो । तर यो पटक कांग्रेस, एमाले, राप्रपाका शीर्ष नेतृत्व नै संसदमा छैनन् ।

सभामुखबाट पहल गर्नेभन्दा पनि राजनीतिक मुद्दा बढी हावी हुने भएकाले राजनीतिक दृष्टिकोणबाट लामिछानेले पहल गरेका हुन् । पहल गर्नु सकारात्मक भएको विपक्षी दलहरूले बताएका छन् । तर उनको पहलले सार्थकता पाएन । बरु विपक्षीले प्रधानमन्त्री खोजेको विषयमा आफू र परराष्ट्रमन्त्रीबाट सम्बोधन गर्ने विकल्प विपक्षीलाई दिए । यसमा तयार नभएका विपक्षीले प्रधानमन्त्रीलाई सदनमा झिकाउने अडान लिएका छन् ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले १७ जेठमै स्पष्टीकरण दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थानबाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन“ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।'

विपक्षीबाट ठाडै अस्वीकार

सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको कुरा उनैले सच्याउनुपर्ने बताए । प्रधानमन्त्रीबाट अभिव्यक्ति नसच्याएसम्म र संसदको रेकर्डबाट अभिव्यक्ति नहटाएसम्म सदन चलाउने कुरा सोच्न पनि नसकिने विपक्षी अडान छ ।

कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत १९ गते संसदमा दिएको मन्तव्यको घोर भर्त्सना गर्दै सो विषयमा तत्काल प्रस्टीकरण दिन माग गरे । प्रधानमन्त्रीले संसदप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र नेपालको भूभाग मिचिएको विषयमा तथ्यगत रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेसको माग रहेको उनले बताए ।

नेकपा एमाले संसदीय दलका उपनेता पद्‌मा अर्यालले प्रधानमन्त्री बालेनले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लंघन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिइन् ।

‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दक्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ’, अर्यालले भनिन्, ‘हामीले पटक पटक आग्रह गर्दा पनि जुन भुल प्रधानमन्त्रीले गर्नुभयो त्यो भुल सुधार गरियोस् र क्षमा याचना गरियोस् भनेर भनिरहेका छौँ तर सुनिएन ।’

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३

२१:०१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)