विशालको ऐतिहासिक प्रदर्शन
ekantipur.com · Fri Oct 06 01:25:41 GMT 2023
हाङचउ — नेपालका विशालसिंह विष्टले पदकबाट धेरै टाढा रहे पनि भारोत्तोलनमा बिहीबार ऐतिहासिक प्रदर्शन गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजियममा सम्पन्न पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित ३ सय १ केजी उठाउने दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा कुलमा ३ सय केजीसम्म भार उचालेको यो पहिलोपल्ट हो । सुनील जोशीले यसअघि अभ्यासमा तीन सय केजी उठाएको दाबी गरिन्छ ।
विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३ सय १ केजी उठाए । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । उनले उक्त कीर्तिमान केही साताअघि रियादमा सम्पन्न विश्व भारोत्तोलन च्याम्पियनसिपमा स्थापित गरेका थिए । स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै १ सय २७ केजी उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १ सय २१ केजी उचालेका थिए । क्लिन एन्ड जर्कमा उनले पहिलो लिफ्टमा १ सय ६१ केजी उठाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)