पेदाङको फोरजी डाँडा
gorkhapatraonline.com · Sat Oct 10 03:22:58 GMT 2026

ताप्लेजुङको सदरमुकामदेखि करिब आठ कोस टाढा दुर्गम तेल्लोकगाउँका बासिन्दा पहिले मानाचामलसहित निश्चित खर्चको जोहो नगरी सदरमुकामतर्फ सेवा लिन पाइला चाल्ने हिम्मत गर्दैनथे । अहिले सेवाग्राहीले घरआँगनमै प्रशासनिक सेवा पाएका छन् । यो सेवा इलाका प्रशासन कार्यालय स्थापना भएपछि पाएका हुन् । घरआँगनमा नै सेवा पाएपछि यहाँका नागरिक खुसीले गदगद मात्रै भएका छैनन्, उनीहरूले पन्चैबाजामा केःलाङ (च्याब्रुङ) नाच्दै रमाए । अघिल्लो पुस्ताले यो अवसर नपाए पनि अहिलेको पुस्ताले भने घरनजिकै सेवासुविधा पाएपछि प्रशासन र सरकारको गुणगान पनि गाए ।
राज्यले परिभाषित गर्दै आएको असल शासकीय व्यवस्थायुक्त शासन शैलीको अनुभूति भएको महसुस यहाँका नागरिकको मुहारमा स्पष्ट झल्कन्छ । सरकारले भौगोलिक रूपमा दुर्गम मानिएका स्थानलक्षित अघिल्लो आर्थिक वर्षमै देशका विभिन्न स्थानमा इलाका प्रशासन स्थापना गर्ने निर्णय गरेको थियो । नागरिकमैत्री शासन र सेवा प्रवाहका लागि घरदैलोमा नै सेवा प्रदान गर्ने गरी स्थापित संरचना विकेन्द्रित शैलीकै कदम हो । जिल्लास्थित कार्यालयहरूको पनि कार्यालयका रूपमा समन्वय तथा सुपरिवेक्षण गर्नुका साथै जिल्लाको शान्तिसुरक्षा, विपत् व्यवस्थापन, नागरिकता प्रदान गर्ने मुख्य भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारीको प्रत्यायोजित अधिकार प्राप्त निकायका रूपमा इलाका प्रशासन कार्यालय यहाँ स्थापित भएको हो । नेपालमा विकेन्द्रीकरण विसं २०२९ देखि लागु भएको थियो । केन्द्रीकृत प्रशासनलाई विकेन्द्रीकरण गर्न र विकास प्रशासनलाई गति दिन एवं विकासमा देखिएको क्षेत्रीय असन्तुलनलाई कम तथा न्यूनीकरण गर्न विकेन्द्रीकरणले सघाउँछ । राज्यका निकायबिच सहकार्यको अभावले कतिपय काम असम्भव जस्तो भइरहेको छ । प्रशासनिक सेवा प्रवाहलाई प्रविधिमैत्री तुल्याउनुपर्नेमा प्रविधि नै पुग्न सकेको छैन । टेलिफोन टावरलाई बादलुको घुम्टोले ढाकेपछि यहाँका नागरिक फोरजी डाँडा (चिचिहाङ डाँडा) उक्लिनुपर्ने बाध्यता छ । किनकि यहाँका टेलिफोन टावरमा बिजुली पुग्न सकेको छैन । सोलारले टावर चलाउनुपर्ने बाध्यता छ । घाम नलागेपछि त्यही सोलारले पनि काम गर्दैन । अनि फोरजी डाँडा उक्लनै पर्यो । जल, जमिन, जङ्गललाई धर्तीको स्वर्ग भनेर भाषण गरेको पाइन्छ । तर, उपयोगमा ल्याउन सकिएको छैन । ग्रामीण भेगमा युग सुहाउँदो खेतीमा नागरिक आकर्षित छन् । नगदेबालीको खेतीमा निर्भर छन् । विकास र विस्तारमा सधैँ जागरुक छन् । तर, बजारकेन्द्रको विकास र स्थापना नहुँदा हैरानी र झन्झट बेहोर्नुपर्ने अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)