मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जफत गरिएका मोबाइलहरू पानीमा डुबाइएको घटनाविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

shilapatra.com · Mon Jun 08 15:54:34 GMT 2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) अवधिमा विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै क्षतिपूर्ति माग गरेका छन् । मोबाइल नष्ट गर्ने निर्णयका कारण आफूहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीहरूले परीक्षा केन्द्रमा नियमविपरीत ल्याइएका मोबाइल फोन नियन्त्रणमा लिन सकिने भए पनि सम्बन्धित व्यक्तिलाई फिर्ता नगरी नष्ट गर्नु अनुचित र अन्यायपूर्ण भएको बताएका छन् । विद्यार्थीहरूका अनुसार जफत गरिएका मोबाइलबारे स्पष्ट जानकारी नदिई नष्ट गरिनु व्यक्तिगत सम्पत्तिमाथिको हस्तक्षेप तथा अधिकारको उल्लंघन हो । उनीहरूले कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिगत सामग्री नष्ट गरिनु स्वीकार्य नभएको बताएका छन् ।

विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले मोबाइल नष्ट गर्ने निर्णयमा संलग्न अधिकारीहरूलाई जवाफदेही बनाउन, घटनाबारे निष्पक्ष छानबिन गर्न तथा प्रभावित विद्यार्थीलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

मागप्रति सम्बन्धित निकायले गम्भीर चासो नदिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत प्रदर्शनकारीहरूले दिएका छन् । एसईइ परीक्षा र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको क्रममा विद्यार्थीबाट जफत गरिएका करिब ५ सय मोबाईल स्थानीय प्रशासनले पानीमा २४ घण्टा राखेर नष्ट गरेका थिए । सोही विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३

२१:३९

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)