वातावरण संरक्षण र संवद्र्धनको चिन्तन
karobardaily.com · Thu Jun 16 17:51:54 GMT 2022
वातावरणीय ह्रासबाट मानवता तथा पशुपन्छी तथा जलचर जगत्लाई सुरक्षा प्रदान गर्न विगत झन्डै आधा दशकदेखि विश्व मानव समुदाय सर्वथा चिन्तित रहेको हामी अनुभूति गरिरहेका छौँ । वातावरण संरक्षणको विषयमा संयुक्त राष्ट्रसंघको सदस्यका हैसियतले नेपाल पनि गम्भीर रूपले संलग्न रहेको सर्वविदितै छ । वातावरण संरक्षणको अभियानमा नेपालले जेजति अहम् भूमिका निर्वाह गरेको छ त्यो महŒवपूर्ण छ नै, तर तुलनात्मक अध्ययनबाट के प्रस्ट हुन्छ भने हामी संरक्षणतर्फ भन्दा पनि विनाशतर्फ बढी उन्मुख हुँदै गइरहेका छौँ । जनघनत्व रहेका ठाउँहरूलगायत मुलुकका प्रायःजसो सबै ठाउँमा निस्फिक्रीका साथ प्रकृति–दोहन बढ्दै गइरहेको र हाम्रा प्राकृतिक सम्पदाहरूमाथि सीमित वर्गले दशकौं लामो समय व्यतीत भइसक्दा समेत कुनै चासो नराखी निर्ममतापूर्ण निरन्तर आक्रामक रूपले अघि बढिरहेको चित्र हामी सबैले देखेभोगेका छौं । संरक्षणविद्हरूको चेष्टा भालुलाई पुराण सुनाउने पुरोहितहरूको सरह बन्दै गइरहेको छ । वास्तवमा वातावरणसम्बद्ध हाम्रा जेजति समस्याहरू छन् तिनको चिरफार यथेष्ट रूपमा हुन सकेको छैन । हालै (गत जून ५ का दिन) हामीले विश्व वातावरण दिवस मनायौं । वातावरण संरक्षणका निम्ति जनस्तरमा कैयौं कार्यक्रमहरू ग¥यौँ । विभिन्न सरकारी तथा गैरसरकारी स्तरबाट जनचेतना अभिवृद्धिका लागि स्थलगत प्रस्तुति गरिनुका साथै श्रव्य–दृश्यको समेत प्रयोग गरिएका थिए । तैपनि अपेक्षित प्रतिफलबाट समाज वञ्चित छ । किन ? वातावरण संरक्षण भन्नाले प्रदूषणरहित स्वच्छ वातावरणको परिकल्पना हाम्रो मन–मस्तिष्कमा नाच्ने गर्छ । जबकि सन् १९७२ मा संयुक्त राष्ट्रसंघले जुन ५ का दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउने निर्णयको घोषणा गरेको थियो । त्यतिबेला उसले आफ्नो घोषणाको सारांशमा वातावरण संरक्षणका लागि विश्व मानव समुदायले एकबद्ध भई सम्पूर्ण वातावरणीय समस्याहरू जस्तै ः वायु प्रदूषण, प्लास्टिकजन्य सामग्रीहरूको प्रयोगबाट सिर्जित हुने प्रदूषण, बढ्दो विश्व तापक्रम, उक्लँदो समुद्री सतह, वन्यजन्तुहरूको अवैध व्यापार, प्रकृति संरक्षण वन तथा प्राकृतिक सम्पदाहरूको संरक्षण, दिगो उपभोग, खाद्यान्न सुरक्षा, जैविक विविधताको सुरक्षा र हालै आएर जलवायु परिवर्तनबाट उत्पन्न हुने अन्य विविध समस्या भुसंरक्षण, पर्यावरणको समुचित संरक्षण र संवद्र्धनमा देखिएका समस्याहरू आदिको सम्बोधनका लागि सारा अन्य मानव जगत्को समन्वयात्मक प्रयास रहनुपर्ने इंगित गरिएको छ । सन् १९७४ मा विश्वले ‘मात्र एक पृथ्वी’ नाराका साथ विश्व वातावरण दिवस मनाएको थियो । यसपछिका वर्षहरूमा नाराहरू फेरिँदै गए र यस वर्ष पुनः हामीले त्यही नाराको पुनरावृति साथ यो दिवस मनाउने (औपचारिकता) पूरा ग¥यौँ ।
यसै सिलसिलामा अहिले आएर नेपालमा वातावरणीय संरक्षणको अवस्था अत्यन्तै कहालीलाग्दो रहेको छ । विकासका निम्ति काटिएका रूखहरूको सट्टा पाँचदेखि पच्चीस गुना बढी वृक्षारोपण गरिने प्रतिबद्धताहरू ती काटिएका रूखहरूसँगै हराएको अवस्था छ । अझै पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मुद्दालाई पुनः उठाएर तराईमा झन्डै ७ लाख रूख काट्ने योजना अघि बढाइएको छ । जडीबुटीको अपार भण्डार सुक्दै गइरहेको छ । कैयौँ नदीनाला, जलस्रोत र तालहरू अपवादमा छैनन् । सहर–बजार र मानव बस्तीहरू फोहोरका डंगुरले भरिभराउ छन्, रोगव्याधिहरूको चाप बढिरहेको छ । जीवनशैलीबारेका हाम्रा मौलिक मूल्य र मान्यताहरू लोपप्रायः भइसकेका छन् । हाम्रा रैथाने र उपभोग्य उत्पादन र बोटबिरुवाहरूको व्यवस्थित संरक्षण र प्रवद्र्धन छैन । डोजरे विकासको लयमा अन्नको उपज प्रत्येक वर्ष घट्दो छ । खाद्यान्नको आपूर्ति यथेष्ट नभएकाले महँगी बढ्नुका साथै बजारभाउ अकासिँदो छ । बर्सेनि आइरहने बाढीपहिरो र डढेलोजस्ता प्राकृतिक प्रकोपले मानव जीवन र पशुपन्छीहरूलाई प्रताडित तुल्याएको छ । जिम्मेवार निकायबाट यसको नियन्त्रणका लागि कुनै प्रभावकारी र दिगो प्रयास भएको छैन । नदी एवं खोलाहरूले प्रत्येक वर्ष आफ्नो बहाव फेरिरहेका हुन्छन्, अन्नबाली भिœयाउने बेला खेतीपाती डुबानमा पुग्छन् । बसोबासको समस्याले वनजंगलहरू अतिक्रमित हुँदै गइरहेको अवस्था छ । अनधिकृत रूपले जथाभावी चुन ढुंगाको उत्खनन, नदीहरूबाट बालुवा र ढुंगाको अवैध चोरीपैठारीजस्ता अनगिन्तीे मानव कुकर्महरूका कारण वातावरण र पर्यावरणले दयनीय स्थितिको सामना गर्नुपरिरहेको प्रस्ट हुन्छ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले राज्यको अर्थतन्त्रलाई कुनै हदसम्म सहयोग पु¥याएको हुन सक्छ तर मुलुकका कर्मठ युवाहरूको विदेश–पलायनका कारण अथाह खेतीयोग्य जमिनहरू बाँझा रहिरहेका छन् । जहाँ खेती हुन सक्छ त्यहाँ आवश्यक जनशक्ति र मलको अभावले उत्पादन नगण्य हुन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)