बजार अनुगमनको प्रभावकारिता
gorkhapatraonline.com · Sun Oct 11 03:10:10 GMT 2026

नेपालीको घरआँगनमा अब महत्वपूर्ण चाडपर्व आउन थालेका छन् । घटस्थापनासँगै नवरात्र सुरु भएको छ । बडादसैँ नेपालमा सबैभन्दा बढी बजार कारोबार हुने चाडपर्वमा पर्छ । दसैँलगत्तै तिहार, छठ जस्ता चाडपर्व आउने छन् । यी ठुला पर्वमा उपभोक्ताको उपभोग बढ्छ । दसैँका अवसरमा सरकारी तथा निजी क्षेत्रका कर्मचारीले नियमित तलबसँगै एक महिनाको थप खर्चसमेत पाउने अभ्यास छ । यसले उपभोक्ताको आम्दानीसँगै खर्च पनि बढी हुन्छ । अनौपचारिक तथ्याङ्क अनुसार दसैँ, तिहार र छठका अवसरमा वर्षभरिको आर्थिक कारोबारको एक तिहाइसम्म पुग्छ । यही बेला बजारमा कालोबजारी पनि बढ्ने गर्छ । कृत्रिम अभाव, मूल्यवृद्धि, मिसावटलगायतका बजार बेथिति बढ्ने गर्छन् । विगतमा पनि चाडपर्वका अवसरमा उपभोक्ता ठगिने गरेको तितो अनुभव छ । आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न गरी वस्तु तथा सेवाको बढी मूल्य लिने प्रवृत्ति घातक नै हो । यातायात क्षेत्रमा पनि बढी भाडा असुल गर्ने गरेको पाइन्छ । दसैँका अवसरमा मात्र झन्डै १० लाख नेपाली काठमाडौँ उपत्यका छाडेर आआफ्ना घर जाने गर्छन् । हवाईसेवाको भाडा पनि उस्तै महँगो हुन्छ । यो वर्ष प्राकृतिक प्रकोप र महाविपत्तिले आक्रान्त भएका उपभोक्ता चाडपर्वका अवसरमा अझ बढी प्रताडित हुने जोखिमप्रति संवेदनशील हुनु पर्छ ।
वर्षभरि नै बजार सहज र स्वच्छ हुनु जरुरी छ । उपभोक्ता ठगिनु हुँदैन । झन् चाडपर्वका बेला बजारमा बढी आर्थिक कारोबार हुने हुँदा अरू बेलाभन्दा मूल्य कम हुनुपर्ने हो । कुनै पनि वस्तु र सेवाको बढी कारोबार हुँदा मूल्य सहज हुनुपर्ने हुन्छ । बढी कारोबार हुँदा कम मुनाफा राखे पनि व्यापारीलाई फाइदा हुन्छ । यो अर्थशास्त्रको सामान्य नियम पनि हो तर नेपालमा यसको विपरीत छ । बढी आर्थिक कारोबार हुने बेलामा झन् बजारमा महँगी बढ्छ । कालोबजारी बढ्छ । कृत्रिम अभावले उपभोक्ता पीडित हुन्छन् । यो विषयमा सरकार संवदेनशील रहेको पाइएको छ । केही दिनअघि प्रधानमन्त्री वालेन्द्र शाहले हवाई भाडाबारे चासो राख्नुभयो । यसले हवाई भाडा बढ्नबाट रोकिएको छ । दसैँका निम्ति अग्रिम टिकट पनि खुलेको छ । त्यसमा पनि सम्बद्ध निकायले ध्यान दिनु पर्छ । उपभोक्ताका अनुसार बजारमा दाल, चामलदेखि सर्वसाधारणले उपभोग गर्ने सबै वस्तुको भाउ बढेको छ । सरकार यसमा संवेदनशील देखिएको छ । नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सिर्जना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन सबै निकायलाई क्रियाशील बनाएको जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार साप्ताहिक ‘प्रेस ब्रिफिङ’ गरी बजार अनुगमनबारे जानकारी दिएको छ । आसन्न चाडपर्वलाई दृष्टिगत गर्दै बजार अनुगमन र शान्तिसुरक्षालाई प्रभावकारी बनाउन उच्च प्राथमिकता दिएको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)