शान्ति कायमका लागि एक ठाउँमा उभिने दलको प्रतिबद्धता
ekantipur.com · Thu Oct 05 01:34:56 GMT 2023
काठमाडौँ — कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरूले अरू राजनीतिक मुद्दामा आ–आफ्ना अडान भए पनि मुलुकको शान्ति र स्थायित्वका लागि एक ठाउँमा उभिने बताएका हुन् । मुलुकमा अस्थिरता ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै राजनीतिक दलले लोकतान्त्रिक गणतन्त्रको जगमा बनेको राष्ट्रिय एकता कसैले बिथोल्न नसक्ने बताएका छन् ।
एमाले प्रवक्ता राजेन्द्र गौतमले विभिन्न बहानामा जातीय, धार्मिक, सांस्कृतिक द्वन्द्व सिर्जना गरी मुलुकमा अस्थिरता ल्याउने प्रयास सफल नहुने बताए । ‘विभिन्न ठाउँमा जातीय, धार्मिक र सांस्कृतिक मेलमिलाप बिथोल्ने प्रयासलाई एमालेले गम्भीर असहमति प्रकट गर्दछ,’ उनले भने, ‘समाजमा द्वन्द्व बढाएर कसैले राजनीतिक ठाउँ बनाउन खोजेको हो भने त्यो सफल हुन सक्दैन ।’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक व्यवस्था परिवर्तन गर्न क्षमता राख्ने राजनीतिक दलसँग देशमा अस्थिरता ल्याउने चलखेल असफल पार्न सक्षम भएको बताए । ‘राजनीतिक दलबीच अन्तरविरोध छन् तर राष्ट्रिय एकताको पक्षमा प्रमुख राजनीतिक दल एक ठाउँमा छन्,’ उनले भने, ‘सरकार, राजनीतिक दलप्रति जनताका धेरै जायज गुनासा छन् तर एकअर्काको धार्मिक आस्था, सांस्कृतिक मूल्यमान्यताप्रति सम्मान गरी मिलेर बसेका विभिन्न समुदाय लोकतन्त्र बलियो बनाउने पक्षमा छन् ।’ उनले समाजमा द्वन्द्व बढाउने प्रयास भए पनि त्यो सम्भव नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)