वर्षाले सडक अवरुद्ध खच्चडकै भर
gorkhapatraonline.com · Sun Oct 11 04:09:38 GMT 2026

अविरल वर्षाका कारण कालीकोटका विभिन्न ग्रामीण क्षेत्र जोड्ने कच्ची सडक अवरुद्ध भएपछि जनजीवन प्रभावित बनेको छ । पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन हुन छाडेपछि ग्रामीण बस्तीमा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि पुनः परम्परागत साधन खच्चडकै भर पर्नुपर्ने बाध्यता छ ।
बर्सात सुरु भएसँगै पहाडी तथा दुर्गम गाउँमा पुग्ने सडक खण्डहर बनेका छन् । सवारीसाधन चल्न छाडेपछि स्थानीय व्यापारी तथा सर्वसाधारणले दसैँका लागि चामल, दाल, नुन, तेल तथा अन्य अत्यावश्यक सामग्री पहाडी भिरपहराको साँगुरो गोरेटो बाटो हुँदै खच्चडको पिठिउँमा बोकेर लैजान थालेका छन् । शुभकालिका गाउँपालिकाको पूरै सडक अवरुद्ध हुँदा खच्चडमार्फत सामान ढुवानी भएको छ । स्थानीय जयबहादुर महताराले सडक अवरोधका कारण सामान ढुवानीमा खच्चडको प्रयोग पुनः गर्नु परेको बताउनुभयो । सडक बन्द हुँदा अरूलाई दुःख भयो होला तर मेरा लागि भने लाखौँका खच्चडले काम पाउँदा खुसी लागेको छ, उहाँले भन्नुभयो । जिल्लाको शुभकालिका, पलाँता, पचालझरना, नरहरिनाथ र महाबै गाउँपालिकाको सडक सुचारु नहुँदा खच्चडकै भरमा सामान ढुवानी भइरहेको छ । दीर्घकालीन सडक सञ्जालको अभाव र हिउँदमा निर्माण गरिएका कच्ची बाटो बर्खामा बगेर जाने समस्याले गर्दा बर्सेनि स्थानीयले यस्तै कष्ट भोग्ने गरेका छन् । पलाँता–२ का गोरेबहादुर बमले खच्चडबाट बोकाएको सामानको मूल्य महँगो भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)