नेपाल बारको चुनाव र मतदाताको सजगता
rajdhanidaily.com · Tue Mar 29 23:27:50 GMT 2022
यही चैत्र १९ गते कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसियसनको निर्वाचन हुँदै छ । तीन वर्षका लागि हुने यो २५ सदस्य कार्यसमितिमा नयाँ नेतृत्वका लागि प्रगतिशील प्यानल र गठबन्धनलगायत स्वतन्त्र प्यानलसमेत रहेको छ । प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा विष्णुमणि अधिकारी र गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे रहेको कुरा जानकारीमा आएको छ । यस निर्वाचनमा देशभरिबाट करिब ९ हजार ७ सय कानुन व्यवसायीले मतदान गर्दै छन् ।
२०१३ साल पौष ७ गते वरिष्ठ अधिवक्ता देवनाथप्रसाद वर्माको अग्रसरता र १० जना कानुन व्यवसायीको उपस्थितिमा स्थापना भएको नेपाल बार एसोसियसन हाल आएर ८३ वटाभन्दा बढी बार एकाइको साझा संगठन बन्न पुगेको छ भने १६ हजारभन्दा बढी कानुन व्यवसायीले व्यावसायिक प्रमाणपत्र लिएको अवस्था छ । यो पेसागत रूपले संविधानमा उल्लेखित सवैधानिक अंक भएको एक मात्र संस्था हो । यस संस्थालाई न्यायपरिषद्मा एक जना सदस्य सिफारिस गर्ने अधिकार सविधानमा सुनिश्चित गरिएको छ भने राज्यका प्रमुख अंगमा र राज्यका प्रमुख कानुनी सल्लाहकारको रूपमा पनि रहने कानुनी व्यवस्था रहेको छ । यस संस्थाले नेपालको प्रत्येक राजनीतिक तथा सामाजिक परिवर्तनका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरिआएको छ । संविधानसभद्वारा निर्मित संविधानको कार्यान्वयन गराउने कुरामा पनि कानुन व्यवसायीको अहं दायित्व रहन्छ नै वर्तमान संविधानले न्यायपालिकालाई स्वतन्त्र निष्पक्ष र सक्षम बनाउने कुराको उद्घोष गरेको छ । तर, संवैधानिक अपेक्षाअनुसार जनतामा न्यायपालिकाप्रतिको जनविश्वास वृद्धि गराउन सकेका छैनौं । कुनै पनि असल काम गलत तरिकाबाट र गलत काम विधिसम्मत प्रक्रियाबाट गरिनुहुन्न भन्ने आमनेपाली जनताको मत हो । अहिलेको अवस्थामा न्यायालयलाई संविधानले परिकल्पना गरेको स्वतन्त्र निष्पक्ष र सक्षम बनाउने कुरामा विशेष सम्मेलन नै गर्नुपर्ने महसुस हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)