नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार–टी सेलबाट शिक्षण अस्पतालमा बिरामीको उपचार
swasthyakhabar.com · Sun Oct 11 04:37:21 GMT 2026

काठमाडौं – सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले नेपालमै विकसित र उत्पादित कार–टी सेलमार्फत एक क्यान्सर बिरामीको उपचार गरिएको जनाएको छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सरको एक प्रकार) को उपचार गराइरहेका बिरामीमा असोज ११ गते चिकित्सक टोलीले सेल चढाएको हो। बिरामी हाल स्वास्थ्यलाभ गरिरहेका र क्लिनिकल रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ। क्लिनिकल टोलीको नेतृत्व गरेका हेमाटो–अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार रोग निको भयो कि भएन (रिमिसन) र उपचारको प्रभाव कति लामो समय टिक्छ भनेर आकलन गर्न टोलीले बिरामीको नजिकबाट निगरानी गरिरहेको छ।
डा. प्रशुन उपाध्याय तथा अन्य सहकर्मीसँगको सहकार्यमा उपचार गरिरहेका डा. श्रेष्ठले यो उपचारले नेपालमा क्यान्सर उपचारमा नयाँ फड्को मारेको बताए। उनका अनुसार केही प्रकारका रगतको क्यान्सरको उपचारका लागि भारत र चीनमाथिको निर्भरता यसले घटाउँछ। केमोथेरापीपछि क्यान्सर पुनः फर्किएका (रिल्याप्स) वा केमोथेरापीले काम नगरेका अवस्थामा कार–टी उपचार विशेष उपयोगी हुनेमा उनले जोड दिए। 'अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो। तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं,' डा. श्रेष्ठले भने।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)