सेबोन अध्यक्षको केटाकेटीपन: विनाअध्ययन निर्देशन, एक महिनामै परिवर्तन
arthasansar.com · Sun Oct 11 10:00:00 GMT 2026

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेर आएदेखि नै डा. गोपाल भट्टले धेरै दस्ताबेजहरु सार्वजनिक गरिसकेका छन् । हरेक दिन जस्तो दस्ताबेज सार्वजनिक गर्दै आएका बोर्ड अध्यक्ष भट्टले केही निर्देशनमा भने केटाकेटीपन देखियो । अध्यक्षको जिम्मेवारीमा आए पछि भट्टले पुँजी बजार सुधारका लागि भन्दै सार्वजनिक गरेका धेरै दस्ताबेजमध्ये आधारभूत सेयरधनीहरुले आफ्नो ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्नु पर्दा १५ दिन अघि नै जानकारी गराउनु पर्ने निर्देशन जारी गरे । सुरुमा यो प्रमोटरका लागि मात्रै हो भन्ने बुझेका लगानीकर्ताहरुले यस विषयमा खासै चासो दिएन् । तर, उक्त व्यवस्था दोस्रो बजारबाट सेयर किनेर ऐनले तोके अनुसारको प्रतिशत पुगेमा त्यो आधारभूत सेयरमा गणना हुने र त्यो सेयर बिक्री गर्दा पनि १५ दिन अघि जानकारी दिनु पर्ने कुरा आए पछि लगानीकर्तामा तरंग उत्पन्न भयो । त्यस पछि लगानीकर्ताहरुले यो व्यवस्थाको विरोध गरे ।
यो व्यवस्था भन्दा केही दिन अघि बोर्डले जलविद्युत क्षेत्रका आयोजनाका लागि आईपीओ जारी गर्दा १०० प्रतिशत नेटवर्थ अनिवार्य हुनु पर्ने व्यवस्था गर्यो । त्यसका अलावा बोर्डले आयोजना निर्माण सम्पन्न भए पछि मात्रै जलविद्युतको आईपीओ जारी गर्न पाउने भन्ने कुरा उल्लेख्य गरेर दस्तावेज सार्वजनिक गर्यो । यसमा ऊर्जा व्यवसायीहरुले विरोध गरिरहेका छन् । उनीहरुले जलविद्युत आयोजना निर्माणको बेला नै रकम आवश्यक पर्ने भएकाले जलविद्युतलाई आईपीओ नै जारी गर्न नपाउने व्यवस्था गर्न चुनौति दिइरहेका छन् । अर्को कुरा नेटवर्थमा पनि ऊर्जा व्यवसायीहरुले विरोध गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)