नयाँ–नयाँ मिलेको देखेपछि हजुरबाको खसखस
Ujyaaloonline.com · Sun Dec 28 21:22:39 GMT 2025

उसै त बुढ्यौलीमा राम्रो निद्रा पर्दैन, त्यसमाथि पुसको जाडो । ओढिरहेको पातलो सिरक अलिकति पन्छाएर हजुरबाले झ्यालबाहिर हेरे । बिहान हुन लाग्दासम्म उस्तै अँध्यारो । केही दिनयता लागेको हुस्सु र कुहिरोले घाम छोपेर दिउँसै अँध्यारो छ । उज्यालो हुनै बाँकी रहेको बेला त यसै पनि अँध्यारो भैहाल्ने भो । हजुरबाले कोल्टे फेरे । सरकारले चिसोमा बुढाबुढी र विपन्नहरूलाई न्यानो कम्बल बाँड्ने कुरो गर्थ्याे । तर पहिलेदेखि अहिलेसम्मका सरकारहरूले कुरो मात्रै गर्ने हुन्, कुरो अनुसार काम गर्ने भए पो । कुरो मात्रैले हुने भए यस्तो जाडोमा किन रातभर अनिँदो भएर लुगलुग काँपिरहनुपर्थ्याे र ? सरकारमा कुरोभन्दा धेरै काम गर्ने मान्छे कहिले आउलान् खै ? हजुरबाले हाई काढे । रेडियोमा समाचार आउने बेला भएछ । हजुरबाले रेडियो खोले ।
‘नयाँ र नयाँबीच एकता’ पहिलो समाचार सुन्नेबित्तिकै हजुरबाका कान ठाडा भए । मनमा छुट्टै किसिमको आनन्द मिलेजस्तो भयो । एकछिनलाई जाडो पनि हरायो । अब धमाधम चुनावी घोषणापत्र र भाषणबाजी आउन थाल्यो भने थप आनन्द मिल्थ्यो होला । नयाँहरू मिल्ने कुरा त गर्दै थिए, मिलेछन् । अब केही होला त ? एकता गर्दा सहमति चाहिँ केके भयो त ? हजुरबाले रेडियो कानको अझै नजिक तानेर सुने । फलानो पार्टी सभापति, ढिस्कानो प्रधानमन्त्री ! हैन चुनाव हुनु कताकता अहिल्यै प्रधानमन्त्री ? ए चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने बन्ने चाहिँ भन्या रैछन् ! तर समर्थकहरू अहिल्यै बहुमत ल्याएर प्रधानमन्त्री बने जसरी पो बुरुकबुरुक गर्दैछन् त !
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)