यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति
emountaintv.com · Mon Aug 10 04:24:53 GMT 2026
यमनको विद्रोही समूह हुथीले लाल सागर (रेड सी) स्थित मोचा बन्दरगाह र पश्चिमी तटीय क्षेत्रका सरकारी नियन्त्रित इलाकाहरूमा आईतवार श्रृंखलावद्ध मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय चिकित्सा स्रोतकाअनुसार मृत्यु हुनेमा चार सर्वसाधारण र चार सरकारी सेना रहेका छन् । दक्षिण–पश्चिमी ताइज प्रान्तमा पर्ने रणनीतिक मोचा बन्दरगाह र आसपासका क्षेत्रमा हुथी समूहले भीषण आक्रमण गर्दा ठूलो मानवीय र भौतिक क्षति भएको हो । मोचा बन्दरगाहका निर्देशक अब्दुल मलिक अल–शराबीले हुथी समूहले दर्जनौँ ड्रोन प्रहार गरेको जानकारी दिए । उनकाअनुसार करिव २५ वटा ड्रोनले आर्थिक प्रतिष्ठान, कर्मचारी आवास र भन्सारको गोदाममा प्रत्यक्ष प्रहार गरेका थिए । यमनको यातायात मन्त्रालयले ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहारबाट बन्दरगाहको पूर्वाधारमा गम्भीर क्षति पुगेको जनाएको छ । घटनापछि सरकारी नियन्त्रित क्षेत्रका बन्दरगाह, विमानस्थल र सीमा नाकाहरूमा सुरक्षा शतर्कता उच्च पारिएको र आपत्कालीन उपायहरू अवलम्बन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जालमार्फत उक्त आक्रमणको जिम्मेवारी लिएका छन् । उनले साउदी समर्थित सेनाको सैन्य भण्डार र केन्द्रहरूलाई लक्षित गरी ठूलो परिमाणमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गरे । साउदी नेतृत्वको सैन्य परिचालन र तटीय क्षेत्रमा भएका पछिल्ला आक्रमणको जवाफमा यो कारबाही गरिएको हुथी पक्षको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)