नयाँ वर्ष शुभ होस्
annapurnapost.com · Wed Apr 14 06:18:00 GMT 2021
उपलब्धिका हिसाबले हराएको वर्षजस्तै बन्यो, २०७७ साल। यो साल राजनीतिक अस्थिरता, कोरोना ब्याधि र आर्थिक संकटका कारण मुलुकसमेत गहिरो संक्रमणमा फस्यो। सबै प्रकारको संक्रमण पूर्णरूपमा नहट्दै आजैबाट नयाँ वर्ष सुरुवात भएको छ। आशा गरौं, हरेक व्यक्ति र मुलुकले खेपिरहेको संक्रमणलाई नयाँ वर्षको उमंगले सहजै पार लगाइदिनेछ र मुलुक नयाँ शिराबाट अघि बढ्नेछ। वैशाख १ गतेलाई नै शुभ साइत मानेर हरेक नागरिकले प्रण गर्नु जरुरी छ, नयाँ वर्षलाई थप उत्साह र उमंगसाथ बिताउन म पनि आफ्नो तर्फबाट गच्छेअनुसार योगदान दिनेछु।
वर्षको सुरुवातदेखि नै मुलुक कोरोना संक्रमणको विश्वव्यापी महाब्याधिको चपेटामा पर्यो। सारा विश्वलाई नै एकैसाथ गाँजेको यो ब्याधिबाट कुनै पनि क्षेत्र अछुतो रहन सकेन। उद्योग कलकारखाना, होटल, पर्यटन, हवाइ क्षेत्र, शैक्षिक संस्था, साना तथा ठूला पसलदेखि दैनिक कमाइबाट जिन्दगी गुजारिरहेकाहरू समेत एकैपटक चरम संकटमा परे। यसबाट यीमध्ये केही त करिब–करिब सडकमा बास बस्नुपर्ने अवस्थामा पुगे। यसको प्रत्यक्ष असर मुलुकको अर्थतन्त्रमा पर्यो। धिमा गतिको अर्थतन्त्रको बेगलाई आम अपेक्षाविपरीत कोरोना कहरले झन्डै ऋणात्मक अवस्थामा पुर्याइदियो। केही समय मत्थर भएको कोरोना संक्रमणपछि लयमा फर्कनै लागेको आर्थिक क्षेत्रले फेरि पनि पुरानै नियति भोग्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ। यही अवस्था रहरिह्यो भने नयाँ वर्ष उमंग भन्दा पनि चिन्ता र भयमै बित्ने छ। यो चिन्ताबाट मुक्ति पाउन सबैको पहल जरुरी छ। कोरोनालाई दैनिकी मानेर यसबाट कसरी सुरक्षित रहने भन्नेतर्फ सबै सचेत हुनु आवश्यक छ। यति गर्न सकियो भने पक्कै पनि कोरोनाको असर धेरै न्यूनीकरण गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)