१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
ratopati.com · Thu Jun 04 17:13:56 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा १०५ सदस्यीय बनाउन सुझाव दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान संशोधनबारे राय दिँदै प्रतिनिधिसभा १०५ सदस्यीय बनाउनु उपयुक्त हुने सुझाव पठाएको हो ।
कार्यदललाई लिखित सुझाव दिँदै आयोगले हालको २७५ सदस्यीय प्रतिनिधिसभालाई घटाउन भनेको हो । स्थानीय तह गैरदलीय बनाउन सकिने पनि आयोगको सुझाव छ ।
आयोगले दिएको २१ बुँदे सुझावमा राष्ट्रियसभा अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिन भनिएको छ । साथै सङ्घ र प्रदेशमा विज्ञ मन्त्रिपरिषद् गठन गर्दा उपयुक्त हुने आयोगको सुझाव छ ।
२१ वर्ष उमेरको नागरिकले प्रतिनिधिसभाको निर्वाचन र ३० वर्ष उमेर पुगेकालाई राष्ट्रियसभाको उम्मेदवार बन्न उपयुक्त हुने आयोगको सुझाव छ ।
हाल प्रतिनिधिसभा सदस्यका लागि २५ वर्ष पुरा भएको हुनुपर्ने र राष्ट्रियसभाको उम्मेदवार बन्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने संविधानमा व्यवस्था छ । एक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्षतर्फ ७७ जनाको व्यवस्था गर्न सुझाव दिएको आयोगले समानुपातिकतर्फ २८ सदस्य मात्रै राख्न सकिने सुझाव दिएको छ ।
विद्यमान संविधानको धारा ८४ मा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्यीय प्रतिनिधिसभा गठन हुने व्यवस्था छ भने राष्ट्रियसभा ५९सदस्यीय छ । प्रदेशमा समानुपातिक व्यवस्था हटाउन पनि आयोगको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह