परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा.जयशंकरबीच न्युयोर्कमा भेटवार्ता
ekagaj.com · Sun Sep 26 16:42:00 GMT 2021
काठमाडौँ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय समकक्षी डा.एस जयशंकरसँग अमेरिकामा भेटवार्ता गरेका छन् । न्युयोर्कमा भएको भेटवार्तामा नेपाल र भारतका समग्र दुईपक्षीय विषयमा छलफल भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा.खड्का र भारतीय समकक्षी डा.जयशंकरबीच भएको भेटवार्तामा दुई देशको पछिल्लो आपसी सम्बन्धबारे छलफल भएको भारतीय विदेशमन्त्री डा.जयशंकरले ट्वीट गरेर जनाएका छन् ।
भेटवार्तामा दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई थप अगाडि बढाउने र सहकार्य गर्ने सहमति भएको पनि जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । पछिल्लो समय दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनापछि नेपाल र भारतबीचको सम्बन्ध त्यति हार्दिक देखिएको छैन । यस विषयमा नेपाल सरकारले लेखेको कूटनीतिक नोटको उत्तर समेत भारत सरकारले अहिलेसम्म दिइरहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)