सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
ratopati.com · Wed Feb 08 06:21:00 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा नयाँ राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएका छन्। उनले सोमबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेतालाई एकै ठाउँमा राखेर यस विषयमा छलफल गरे। राष्ट्रिय सुुरक्षा विषयमा नेपाली सेनाले ब्रिफिङ गर्ने बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सहभागी गराएर नयाँ राष्ट्रपति चयनका विषयमा छलफल गरेका हुन्।
प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए। सोही बैठकमा प्रधानमन्त्री दाहालले ओली र देउवालाई पनि सँगै राखेर राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए। सामान्यतया प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ लिने बैठकमा विपक्षी र अन्य दलका नेतालाई सहभागी गराइँदैन। तर प्रधानमन्त्री दाहालले देउवा र ओलीलाई सँगै राखेर सुरक्षा मामिलामा प्रधानसेनापतिको ब्रिफिङ सुनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)