मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिम शाहको प्रतिवद्धता–जेन्जी आन्दोलनका घाइते र शहीद परिवारको माग सम्बोधन हुन्छ

barnanmedia.com · Sat May 16 02:36:30 GMT 2026

काठमाडौँ । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा शहीद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए ।

उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रह गरेका थिए । उनीहरूको गुनासो सुनिसकेपछि शाहले वर्तमान सरकार जेन्जी आन्दोलनकै जगमा बनेको र यसले जेन्जीको हकहितका लागि निरन्तर काम गरिरहेको बताए । उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने, ‘यो सरकार जेन्जी आन्दोलनकै जगमा बनेको हो। तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ। त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो ।’

उनले थपे, ‘भ्रष्टाचार विरुद्ध र सुशासनको माग संसदमा हुँदा पनि उठाएको थिएँ, जुन जेन्जीकै भावना अनुरूप थियो । अहिले हामी त्यही मागलाई लागू गर्ने ठाउँमा छौँ, जुन फेरि पनि नयाँ पुस्ताकै चाहना हो । सरकारले सुशासन र भ्रष्टाचारको मामिलामा ‘शून्य सहनशीलता’ को नीति अपनाएको छ ।’

संयोजक शाहले सरकार र जेन्जी आन्दोलनका घाइते तथा शहीद परिवारबीच संवादमा केही दूरी बढेको महसुस भएको स्वीकार गरे । अबका दिनमा आफ्ना मागका लागि उहाँहरूले थप दौडधुप गरिरहनु नपर्ने आश्वस्त पार्दै उनले भने, ‘तपाईँहरूले यसरी मागका लागि गुनासो गर्नुपर्ने अवस्था आउँदा हामीलाई असहज लागेको छ। तपाईँहरूको माग पूरा गर्न अब हामी आफैँ लाग्नेछौँ ।’

कार्यदलका सदस्य सचिव एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीले पनि शाहको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै यो सरकार जेन्जीको माग पूरा गर्न पहल गर्ने बताएका थिए ।

छलफलको अन्त्यमा संयोजक शाहले संविधान संशोधनका लागि बहस पत्र तयार भइरहेको जानकारी दिँदै यस ऐतिहासिक प्रक्रियामा सहभागी हुन आज छलफलमा सहभागी भएका तथा अन्य सबै जेन्जीलाई आह्वान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)