प्रजातान्त्रिक संस्कारको अपरिहार्यता
rajdhanidaily.com · Sun Jun 20 23:11:56 GMT 2021
नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको छ । कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र प्रजातान्त्रिक परिपार्टी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ । चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपार्टी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जाला भन्ने अर्थमा देखिएको छ । चासो यस अर्थमा कि कम्तीमा पनि नेपालको प्रजातान्त्रिक प्रक्रिया सजीव बनाउन पार्टी आन्तरिक जीवनमा प्रजातान्त्रिक अभ्यास गर्ने प्रजातान्त्रिक पार्टी यही नै हो । त्यसैले, प्रजातान्त्रिक प्रक्रिया सुदृढ हुँदै जाओस् जसले देशमा चलिरहेको शासन व्यवस्थामा थप मद्दत पु¥याओस् र अन्य पार्टीलाई पहिलो गतिलो शिक्षा दिन सकोस् भन्ने आशय सबैको रहेको देखिन्छ । हरेक देशको शासन व्यवस्था कति सुदृढ हुन सक्छ । कति सजीव हुन सक्छ र त्यसलाई सही ढंगले अघि बढाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा देशभित्र रहेका शासन व्यवस्थासँग सम्बन्धित विचार, नीति, विधि र आचरण पालन गर्ने पार्टीमा निर्भर रहन्छ । यसैले प्रजातान्त्रिक संस्कार बोकेर आएको पार्टी भएकाले पनि अन्य पार्टीभन्दा नेपाली कांग्रेसमाथि सबैको आशा, भरोसा र गुनासो केन्द्रित हुन गएको छ ।
हाल पार्टीका सभापति रहेका शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाको शेषपछि लामो समय पार्टी सभापति बन्दै आएका छन् । फेरि पनि उनी महाधिवेशनमा आफू पनि सभापतिको प्रत्यासी हुने घोषणा गरेपछि देउवाको उम्मदेवारीको विषय लिएर विभिन्न टीकाटिप्पणी पनि भइरहेको छ । आफू बाँचुन्जेल सत्ता र शक्ति बाहिर रहन नसक्ने सोच, चिन्तन र व्यवहार प्रजातान्त्रिक प्रणालीसम्मत हुन्छ कि हुँदैन ? भन्ने चिन्ताको विषय हो । यद्यपि, उनी प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचित भएर पुनः सभापति चुनिए भने त्यसलाई आश्चर्य मान्नुपर्दैन । तर, विगतमा उनी सभापति हँुदा पार्टीको अवस्था कहाँ पुग्यो भन्नेबारे गहन विश्लेषण हुनु पनि स्वाभाविक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)