विपक्षीसँग डराएका हुन् पुटिन ?
barnanmedia.com · Tue Aug 11 09:47:14 GMT 2026

रूसले युद्धविरोधी एउटा प्रमुख राजनीतिक दललाई आगामी संसदीय चुनावमा सहभागी हुनबाट रोकेको छ। यसलाई राष्ट्रपति भ्लादिमिर पुटिनको सरकार र युक्रेनमा जारी युद्धको विरोध गर्ने राजनीतिक शक्तिमाथि बढ्दो दबाबको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ। रूसको सर्वोच्च अदालतले सोमबार आकस्मिक रूपमा बोलाइएको सुनुवाइमा याब्लोकोलाई आगामी सेप्टेम्बर १८ मा हुन गइरहेको संसदीय निर्वाचनमा उम्मेदवार उठाउन रोक लगाउने मागसम्बन्धी मुद्दा सदर गरेको हो।
यस्तो निर्णयको अपेक्षा आफूहरूले गरिसकेको पार्टीका मस्को शाखा प्रमुख किरिल गोन्चारोभले बताए। उनका अनुसार जनसमर्थन बढ्दै जाँदा याब्लोको क्रेमलिनका लागि पार्टी थप चुनौतीपूर्ण बन्दै गएको थियो। ‘मानिसहरू शान्ति, स्वतन्त्रता र डरबिनाको जीवन चाहन्छन्,’ अदालतको फैसला आएपछि गोन्चारोभले भने। याब्लोकोले आगामी पाँच दिनभित्र यस निर्णयविरुद्ध गरेको अपिल सफल नभए पार्टी चुनावमा सहभागी हुन पाउने छैन। याब्लोकोलाई चुनावी सूचीबाट हटाउन माग गर्दै रोदिना नामक राष्ट्रवादी पार्टीले मुद्दा दायर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)