मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा आयात हुने ईभी अन्तर्राष्ट्रिय मापदण्डप्राप्त रहेको नाडाको प्रस्टोक्ति

baahrakhari.com · Sat May 16 03:35:23 GMT 2026

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले नेपालमा आयात हुने विद्युतीय सवारी साधन (ईभी)हरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त रहेको प्रस्ट पारेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा मात्रै ईभी आयात हुँदै आएको नाडाले बताएको छ ।

सम्बन्धित टेस्टिङ एजेन्सीहरूले प्रदान गर्ने ‘टाइप अप्रुभल’लगायत प्रमाणपत्रहरू आयात प्रक्रियाका अनिवार्य आधार भएको भन्दै नाडाले भनेको छ, “जसमा पिक पावर तथा परीक्षण प्रतिवेदन सम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ ।”

उत्पादक कम्पनीले जारी गर्ने कन्फर्मिटी अफ प्रोडक्सन’ सर्टिफिकेट तथा नेपाल सरकार, यातायात व्यवस्था विभागले स्वीकृति पत्र दिएपछि मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्ने गरेको नाडाले प्रस्ट पारेको छ ।

स्थापित कानुनी, प्राविधिक तथा संस्थागत प्रक्रिया पूरा गरी आयात गरिएका सवारी साधनबारे पर्याप्त तथ्य र आधिकारिक आधारबिना शंका उत्पन्न गर्ने, भ्रम फैलाउने वा अनर्गल प्रचार गर्ने कार्यले समग्र ईभी उद्योगप्रतिको विश्वसनीयता तथा उपभोक्ता विश्वासमा नकारात्मक असर पर्ने नाडाको भनाइ छ ।

“नेपालका ईभी व्यवसायीहरूले प्रचलित कानुन कर तथा भन्सारसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गरिरहेका छन्,” नाडाले भनेको छ, “त्यसैले पर्याप्त प्रमाण, प्राविधिक परीक्षण तथा आधिकारिक निष्कर्षबिना व्यवसायीहरूमाथि ‘कर छली’ वा ‘अनियमितता’जस्ता आरोप लगाइनु न्यायोचित मान्न सकिँदैन,”

विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय मापदण्ड तथा बजारको आवश्यकताअनुसार फरक–फरक मोटर स्पेसिफिकेसन तथा प्राविधिक संरचनासहित उत्पादन हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको नाडाले प्रस्ट पारेको छ ।

नेपालमा आएका ईभी गाडी सिंगापुरलगायत विभिन्न देशमा पनि समान स्पेसिफिकेसनमै जाने गरेको भन्दै नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले एउटा कुनै वेबसाइट मोडल नाम वा बाह्य विवरणका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा पर्याप्त र विश्वसनीय मान्न सकिँदैन ।”

नेपालमा ईभीको मोटर क्षमताका आधारमा कर निर्धारणको व्यवस्था रहे पनि परीक्षण तथा प्रमाणीकरण सम्बन्धी स्पष्ट, एकीकृत तथा व्यवहारिक मापदण्ड अझै पूर्ण रूपमा संस्थागत भइसकेको छैन । त्यसैले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त परीक्षण तथा प्रमाणीकरण निकायबाट जारी प्रमाण पत्रलाई नेपालमा आधिकारिक मान्यता दिने स्पष्ठ कानुनी तथा प्राविधिक कार्यविधि तत्काल विकास गर्न आवश्यक रहेको नाडाको धारणा छ ।

“भविष्यमा यस्ता विवाद वा अन्योल दोहोरिन नदिन नेपालमै आधुनिक परीक्षण तथा प्रमाणीकरण पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता पनि उतिकै महत्वपूर्ण देखिन्छ । यसका लागि नाडा सरकारलाई आवश्यक सहयोग गर्न सदैव तयार,” विज्ञप्तिमा उल्लेख छ ।

#ईभी

#नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)