१८ वर्षसम्म जन्मदर्ता न नागरिकता
ekantipur.com · Sat Apr 29 16:46:23 GMT 2023
कास्की — ममता जन्मिएको १८ वर्ष पुग्यो । नागरिकताको प्रमाणपत्र पाउने र मतदाता नामावलीमा समेटिने समयमा पनि उनी जन्मदर्ताबाटै वञ्चित छिन् । शारीरिक अपांगता भएकी उनले सरकारबाट पाउने भत्ता पनि पाएकी छैनन् ।
उनी दुवै खुट्टाले टेक्न सक्दिनन् । आमा विमला श्रेष्ठको सहारा लिएर खाने, बस्ने, उठ्ने, सुत्ने र शौचालय जाने गर्छिन् । विद्यालय पनि आमाकै सहाराले जाने, आउने गरेकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ अभियानपथ बस्दै आएकी ममता त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ११ मा व्यवस्थापन विषय अध्ययनरत छिन् । ‘नागरिकता बनाउने उमेर पुग्यो जन्मदर्ता बनाइदिन सकेकी छैन,’ आमा विमला भन्छिन्, ‘मेरो नागरिकता बसोबासका आधारमा ०७६ सालमा बनाएकी थिएँ । मेरो नामबाट जन्मदर्ता नबन्दा धेरै दुःख पाएकी छु ।’ २०६० सालमा सिरहाका बहादुर यादवसँग विवाह गरेकी विमलाले ०६२ मा ममतालाई जन्माइन् । ‘सरकारले आमाको नामबाट सन्तानलाई नागरिकता दिन्छु भन्छ तर मैले छोरीलाई जन्मदर्ता दिन सकिनँ,’ विमला भन्छिन्, ‘वडा कार्यालय र नगरपालिका धेरै धाएँ, न्याय कसैले दिएनन् ।’ पुतलीबजारमा मेलापात र मजदुरी गरेर उनले गुजारा चलाउँदै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)