जनकपुर साहित्य महोत्सव
annapurnapost.com · Sat May 16 05:01:39 GMT 2026

जनकपुरधाम : तीन दिने ‘जनकपुर साहित्य महोत्सव २०८३’ औपचारिक रूपमा प्रारम्भ भएको छ। नव मिथिला फाउन्डेसनद्वारा आयोजित यस महोत्सवको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले एक भव्य समारोहबीच गरेका छन्।
‘धरातल, संस्कृति र संस्कारको उत्सव, जनकपुर साहित्य महोत्सव’ भन्ने मूल नाराका साथ सातौं संस्करणका रूपमा आयोजना गरिएको यस महोत्सवमा देशभरिका चर्चित साहित्यकार, लेखक, गायक, संगीतकार, उद्यमी, पत्रकार, कवि र विचारकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित झाले महोत्सवले समाजमा नयाँ बहसहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे। ‘जहाँ शब्दहरू जीवित रहन्छन्, त्यहाँ सभ्यता बाँच्छ, संस्कृति सुरक्षित रहन्छ र चेतनाको दियो पुस्तौंसम्म बलिरहन्छ। मिथिलाको माटो आफैंमा ज्ञान, दर्शन, कला, संगीत र साहित्यको उर्वर भूमि हो। यही भूमिले हामीलाई माता सीता, राजर्षि जनक, याज्ञवल्क्य र गार्गी जस्ता महान् व्यक्तित्वहरू दिएको छ,’ उनले भने, ‘हजारौं वर्ष पुरानो यो सभ्यता केवल इतिहासको पानामा मात्र सीमित छैन, यो आज पनि हाम्रो जीवनशैली, संस्कार र पहिचानमा जीवन्त छ। यो उत्सव त्यही गौरवशाली परम्पराको निरन्तरता हो।’
कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश प्रमुख डा. लाभले जनकपुर भूगोल मात्र नभएर एक विशिष्ट संस्कृति र संस्कारको पहिचान भएको बताए। ‘संसारमा यदि कतै शास्त्रार्थको प्रारम्भ भएको थियो भने त्यो जनकपुरमै भएको थियो,’ उनले थपे, ‘त्यो जनकपुरलाई स्मरण गर्नुहोस्, जहाँ प्राचीन कालमा विमर्श हुन्थ्यो। राजा जनकको दरबारमा देश–विदेशबाट विद्वान्हरू आएर शास्त्रार्थ गर्थे, जसको जीवन्त प्रमाण अष्टावक्रको दर्शन र साहित्य हो। जनकपुर उत्सव, महोत्सव, मेला र संस्कारको धर्ती हो। हाम्रो धरातलसँग नयाँ पुस्तालाई जोड्ने यो प्रयास निकै प्रशंसनीय छ।’
समारोहमा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिनाले यस साहित्य महोत्सवले नेपाल र भारतबिचको साझा संस्कृतिलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख वक्ता डा. उपेन्द्र महतोले हामी संकल्पित भयौं भने देश पक्कै पनि समृद्ध हुने विचार राखे। ‘हाम्रो देश जति सभ्य र सुसंस्कृत छ, त्यति अन्य कुनै देश छैन। हामीले आफ्नो भाषा, संस्कार र इतिहासलाई जोगाएर नै आर्थिक उन्नति गर्नुपर्छ,’ डा. महतोले भने, ‘बाहिरी देशको आर्थिक विकास वास्तवमै ठूलो देखिए पनि त्यो यान्त्रिक विकास मात्र हो। त्यहाँका मानिसहरू रोबोट जस्ता भइसकेका छन् र उनीहरू केवल आर्थिक उन्नतिमा मात्र केन्द्रित छन्। तर, हामी आफ्नो इतिहास, साहित्य र संस्कृतिलाई अक्षुण्ण राख्दै आर्थिक समृद्धिको कुरा गर्छौं, त्यसैले हामी आध्यात्मिक र सांस्कृतिक रूपमा धेरै धनी छौं।’
महोत्सवको पहिलो दिन १ लाख ५ हजार रुपैयाँ राशिको ‘अमित झा स्मृति साहित्य तथा संगीत पुरस्कार’ मिथिलाका प्रसिद्ध लेखक तथा संगीतकार अशोक दत्तलाई प्रदान गरिएको छ। दत्त हाल क्यान्सर रोगबाट ग्रसित भई उपचार गराइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)