सरकारकारले बनाएका मुक्त हलियाका घर भत्किन थाले तर किन बसेनन् हलिया ?
baahrakhari.com · Sun Oct 17 01:05:00 GMT 2021
डोटी । मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै घर भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको पाँच वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको छ ।
सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी तथा बिजुली नहुँदा मुक्तहलिया बस्न नसकेको उक्त सामूहिक बस्तीमा घर भएकी मुक्तहलिया चन्नरी कोलीले बताइन् । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्तहलियाको गुनासो छ । हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्लमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अभियानकर्मी गोरखबहादुर सार्कीले बताए । कर्मचारी अभाव भएका कारण जिल्लाभरि मुक्त हलियाका मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)