मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

nagariknews.nagariknetwork.com · Wed Oct 14 04:17:24 GMT 2026

दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ। सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ। नेपालगन्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन। एउटै टोलमा दुईतीनवटा मूर्ति स्थापना गरिएको छ।

दसैँको बेला दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन बढेको स्थानीय अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए। 'मूर्ति पूजासँग जोडिएको आफ्नै धार्मिक मान्यता र परम्पराअनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिहरूको सप्तमीका दिन मात्र आँखाको पट्टी खोलिन्छ। धार्मिक विश्वासअनुसार महिषासुर राक्षसको वध दुर्गा भवानीले सप्तमीका दिन नै गर्नुभएको हुनाले सोही दिन मूर्तिको आँखा खोल्ने परम्परा रहँदै आएको छ', उनले भने, 'दसैँभरि भव्य पूजाआजा र दर्शनपछि विजयादशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन यी मूर्तिहरूलाई नजिकैको राप्ती नदीमा लगेर भक्तिपूर्वक विसर्जन गरिन्छ।'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)