महान्यायाधिवक्ताको अक्षम्य कर्म
annapurnapost.com · Mon Jun 20 00:52:00 GMT 2022
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो। कानुनी शासनका लागि सरकार र प्रधानमन्त्रीलाई सघाउने उनको दायित्व हुन्छ। संवैधानिक एवं कानुनी विषयमा सरकारले तोकिदिएका अन्य अधिकारीलाई कानुनी राय सल्लाह प्रदान गर्ने दायित्व पनि महान्यायाधिवक्ताकै हो। तर, महान्यायाधिवक्ता खम्मबहादुर खाती भने आफ्नो काम, कर्तव्य र अधिकारभन्दा विपरीत कार्यमा संलग्न देखिएका छन्। उनले गएको स्थानीय निर्वाचनमा आफ्नो पद, पहुँच र शक्तिको चरम दुरुपयोग गरेका छन्। निर्वाचन आयोगको छानबिन प्रतिवेदनले निर्वाचनमा धाँधली र निर्वाचन स्थगन गर्न खातीको संलग्नता पुष्टि गर्छ।
महान्यायाधिवक्ता खम्मका सहोदर दाजु रंगनाथ खाती बाजुरा जिल्लाको बूढीगंगा नगरपालिकाको मेयरका उम्मेदवार थिए। खम्मबहादुर सरकारी मर्यादा, प्रतिष्ठा र दायित्व चटक्कै भुलेर दाजुलाई जसरी पनि चुनाव जिताउन लागिपरेका देखिन्छन्। जुन सरासर उनको पदीय मर्यादा विपरीतमात्रै होइन, दण्डनीय कार्य हो। सरकारी जिम्मेवारीमा रहेर कसैलाई चुनाव जिताउन वा हराउन लाग्नु हुँदैन। कानुनका जानकार खम्मलाई त्यति ज्ञान नभएको वा ध्यान नपुगेको होइन। बदनियतपूर्वकै उनी पदीय दायित्वविपरीत कार्यमा संलग्न भएका छन्। उनकै दबाब र प्रभावका कारण बूढीगंगाको भानोदय मतदान केन्द्रको चुनाव स्थगनमात्रै भएन, पूरै चुनाव भाँडियो। निर्वाचन आयोगले उक्त नगरपालिकाको चुनाव रद्द गरेको छ र फेरि चुनावको तयारी थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)