सपनाको सडकदेखि सत्ताको सोपानसम्म
nepalpress.com · Tue Jun 09 02:04:06 GMT 2026

कुनै जमानामा बेलायतको एउटा कुनाबाट सुनौलो सडकको सपना बोकेर लन्डन पसेको एक अनाथ ठिटोको कथा आज पनि संसारभरका बालबालिकाका लागि प्रेरणाको स्रोत मानिन्छ । कथा हो–डिक ह्विटिङ्गटन र उनको रैथाने बिरालोको । भोकमरी र गरिबीको हिलोबाट उठेर एउटा चतुर बिरालोको सहारामा लन्डनको ‘लर्ड मेयर’ बन्न सफल डिकको यो कथा नेपाली समाजका लागि भने अचेल दन्त्यकथा रहेन । बरु, यो त वर्तमान नेपाली राजनीतिको सबैभन्दा धारिलो व्यङ्ग्य र विद्रुम ऐना बनेर सिंहदरबार र बालुवाटारका भित्ताहरूमा ठोक्किइरहेको छ ।
कथा वास्तविक इतिहासमा आधारित छ । सन् १४ औँ शताब्दीमा रिचर्ड ह्विटिङ्टन नामका वास्तविक व्यक्तिले लन्डनको मेयर पद चार पटक सम्हालेका थिए र उनी दानवीर तथा सफल व्यापारीको रूपमा प्रसिद्ध थिए । डिक ह्विटिङ्टनको मौलिक कथाको नायक डिक ह्विटिङ्टन एउटा निर्धन गाउँको अनाथ बालक हो । उसले सुन्छ–टाढाको लन्डन सहरमा सडकहरू सुनले बनेका छन्, त्यहाँ मानिसहरू धनी हुन्छन् र भाग्यले साथ दियो भने जो कोही पनि ठूलो पदमा पुग्न सक्छ ।
यो सपनाले लठ्ठिएर ऊ पैदलै लन्डनको यात्रा गर्छ । तर सहर पुग्दा उसको सपना चकनाचुर हुन्छ । सडकहरू सुनले होइन, फोहोर र गरिबीले भरिएका छन् । भोक, थकान र निराशाले ग्रस्त डिक अन्ततः एउटा धनी व्यापारीको घरको ढोकेमा पुग्छ । व्यापारीले दया गरेर उसलाई घरमा काम दिन्छन् । तर रातको समयमा डिकको जीवन नरक बन्छ–ठूलाठूला मुसाहरूले उसलाई सताउँछन् । कथाको सबैभन्दा प्रसिद्ध भाग भने ‘बाउ वेल्स’ को घण्टी हो । जब डिक निराश भएर लन्डन छोड्न लाग्छ, चर्चको घण्टी बज्छ र उसलाई बोलाउँछ–‘फर्क डिक ह्विटिङ्टन, तँ तीन पटक लन्डनको मेयर बन्नेछस् ।’ घण्टीको आवाजले ऊ फर्किन्छ र सफलता प्राप्त गर्छ ।
एक दिन उसले आफ्नो सारा बचत जम्मा गरेर एउटा बिरालो किन्छ । त्यही बिरालोले रातभर मुसाहरू मारिदिन्छ र डिकलाई निदाउन दिन्छ । केही समयपछि व्यापारीले आफ्नो व्यापारिक जहाज विदेश पठाउने तयारी गर्छन् । हरेक कामदारले जहाजमा केही न केही सामान पठाउन पाउँछन् । डिकसँग पैँसा केही छैन, ऊ आफ्नो प्रिय बिरालोलाई मात्र पठाउँछ । जहाज एउटा टाढाको देश पुग्छ जहाँ राजप्रसाद मुसाहरूको विपत्तिमा छ । राजा र रानीले डिकको बिरालोलाई देखेर अत्यन्त खुसी हुन्छन् । बिरालोले सबै मुसा मारिदिन्छ । राजाले बिरालोको बदला ठूलो धनराशि, हीरा, मोती र बहुमूल्य सामान दिन्छन् । डिक अचानक धनी बन्छ । ऊ व्यापारीकी छोरीसँग विवाह गर्छ र अन्ततः लन्डनको तीन पटक मेयर बन्न सफल हुन्छ ।
कथाको नायक डिकले सुनेको थियो–लन्डनका सडकहरू सुनैसुनले छापिएका छन्, त्यहाँ पुग्ने जोकोहीको भाग्य रातारात चम्किन्छ । ठ्याक्कै यही शैलीमा हाम्रा राजनीतिक दलहरूले हरेक निर्वाचनमा सर्वसाधारणलाई सपना बाँड्छन्–‘काठमाडौँलाई लिङ्गापुर बनाउने’, ‘गाउँ–गाउँमा स्मार्ट सिटी’ र ‘घर–घरमा समृद्धि’ । तर, जब एउटा आम नागरिक वा हिजोको भुइँमान्छे यो सपनाको सहरमा आइपुग्छ, उसले सुनको सडक होइन, धुलो, हिलो, अस्तव्यस्त ट्राफिक जाम र भ्रष्टाचारको पहाड मात्र उपहार पाउँछ ।
डिकजस्तै सुरुवाती दिनमा राजनीतिको तल्लो तहमा सङ्घर्ष गर्ने कार्यकर्ताहरूले गुटबन्दी, उपेक्षा र दाउपेचको चरम सास्ती खेप्नुपर्छ । जसरी डिकलाई रातभरि ओछ्यान वरिपरि घुम्ने मुसाहरूले टोकेर सुत्न दिँदैनथे, त्यसरी नै इमानदार कार्यकर्तालाई पार्टीभित्रका आन्तरिक द्वन्द्व, आर्थिक सङ्कट र घात–प्रतिघातका ‘मुसाहरू’ ले रातभर सताइरहन्छन् ।
कथाले हाम्रो राजनीतिक यात्रा, सत्ताको आकाङ्क्षा र सत्तामा पुगिसकेपछि देखिने चरित्रलाई यति मार्मिक रूपमा प्रतिबिम्वित गर्छ कि लाग्छ, यो कुनै विदेशी बालकथा होइन, नेपाली नेतृत्वको आधुनिक संस्करण हो । गाउँबाट झोला बोकेर रित्तो गोडा र रित्तो खल्ती बोकेर काठमाडौँ छिरेका हाम्रा समकालीन नेताहरूको पृष्ठभूमि हेर्दा लाग्छ–उनीहरू सबै डिक ह्विटिङ्गटनकै आधुनिक नेपाली संस्करण हुन् । हिजो क्रान्ति, परिवर्तन र समानताका चर्का नारा लगाउँदै सडकको हिलो कुल्चेर सत्ताको सोपान चढ्न आइपुगेका पात्रहरू र चौधौँ शताब्दीको लन्डनका ती विवश बालकबीचको समानता साँच्चै नै उदेकलाग्दो छ ।
नेपाली राजनीतिसँगको समानता
कथालाई नेपाली राजनीतिको कटु यथार्थसँग घनिष्ठ रूपमा जोडेर हेर्न र बुझ्न सकिन्छ । गाउँबाट काठमाडौँ आएका धेरैजसो नेपाली नेताहरू डिक ह्विटिङ्टनकै संस्करण जस्ता लाग्छन् । उनीहरू पनि अभाव, गरिबी र सङ्घर्षको कठिन बाटोबाट आएका हुन्छन् । काठमाडौँलाई सुनौलो सपनाको सहर ठानेर यात्रा गर्छन् । सहर पुग्दा उनीहरूलाई पनि फोहोर, भ्रष्टाचार, षड्यन्त्र, गुटबन्दी र शक्तिको खेलले स्वागत गर्छ । सुरुका दिनहरू निकै कष्टकर हुन्छन् ।
सानोतिनो पार्टी काम, कार्यकर्ता जीवन, अभाव र रातभरका ‘मुसा’ हरू (षड्यन्त्र, आन्तरिक द्वन्द्व, आर्थिक सङ्कट) ले उनीहरूलाई सताइरहन्छ । उनीहरूले आफ्नो ‘बिरालो’ फेला पार्छन् । यो ‘बिरालो’ का विभिन्न रूप हुन्छन्–कुशल राजनीतिक चालबाजी, गुटगत एकता, सत्ताका लागि गरिने समझदारी, आवश्यक परे विदेशी समर्थन, आर्थिक स्रोतको व्यवस्थापन वा कहिले काहीँ सशस्त्र सङ्घर्षको विरासतसमेत । जसरी डिकको बिरालोले मुसाहरूलाई मारेको थियो, त्यसैगरी राजनीतिक ‘बिरालो’ ले प्रतिस्पर्धी नेताहरू, पुराना शक्तिहरू, आन्तरिक विपक्षी र असहज प्रश्नहरूलाई एकपछि अर्को गर्दै पन्छाउँदै जान्छ । केही वर्षमै यी ‘डिक’ हरू मन्त्री बन्छन्, पार्टीका महत्त्वपूर्ण पदमा पुग्छन् र पटक–पटक प्रधानमन्त्री बन्न सफल हुन्छन् ।
राजनीतिको छाँया : प्रशासनिक र निजी क्षेत्रका ‘डिकहरू’
नेपाली राजनीतिमा ‘बाउ वेल्स’ को घण्टीको स्थान ‘सत्ताको घण्टी’ ले लिएको छ । निर्वाचनमा जति पटक पराजित भए तापनि, जति पटक सरकारबाट बाहिरिए पनि, जति पटक आलोचना भए पनि–यो घण्टी बजिरहन्छ । ‘फर्क, फेरि प्रयास गर, फेरि प्रधानमन्त्री/मन्त्री, सांसद बन्न सक्छौँ’ भन्ने अदृश्य आवाजले नेताहरूलाई निरन्तर आकर्षित गरिरहेको छ । फलस्वरूप एउटै व्यक्तिले तीन/चार वा पाँचपटक प्रधानमन्त्री बन्ने दृश्य हामीले बारम्बार देखेका छौँ । यो प्रवृत्ति प्रायः सबै प्रमुख नेताहरूमा देखिन्छ ।
केन्द्र र प्रदेश तहको सत्ता राजनीति, प्रशासनिक सरुवा–बढुवा र कर्पोरेट नियुक्तिमा पनि यो घण्टी अहोरात्र बजिरहेको छ । चाहे जतिसुकै पटक असफल होऊन्, भ्रष्टाचार र अनैतिकताको मुद्दामा जतिसुकै विवादित वा आलोचित होऊन्, एउटा अदृश्य ‘कुर्सी र शक्तिको घण्टी’ ले यी पात्रहरूलाई निरन्तर भनिरहन्छ– फर्क, सेटिङ मिलाऊ, तिमी फेरि सोही पदमा पुग्न सक्छौ । फलतः राजनीतिमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने, पार्टीको प्रमुख रहने र प्रशासन तथा वित्तीय क्षेत्रमा उही दाग लागेको मान्छे पुनः शक्तिशाली पदमा पुनरावृत्ति भइरहने महारोगले मुलुक ग्रसित छ । अस्थिरता र केही थान सीमित अनुहारहरूको यो चक्रीय प्रणालीले समग्र राज्य व्यवस्थालाई नै शिथिल बनाइसकेको छ ।
सत्ताको यो चक्रमा परेपछि गाउँबाट आएका साधारण कार्यकर्ताहरू अचानक महङ्गा गाडी, आलिसान महल र वैदेशिक अस्पतालका मालिक बन्छन् । नातागोता र आसेपासेहरूको जीवनस्तरमा चमत्कारिक रूपान्तरण हुन्छ, तर जसको नाममा राजनीति गरिएको थियो, ती जनताको दैनिक जीवन भने कथाको सुरुवाती डिकको जस्तै गरिबी र अभावको हिलोमै छटपटाइरहेको छ ।
यो प्रवृत्तिको ऐजेरु समाजका हरेक अङ्गमा फैलिएको छ । राज्यका लोकतान्त्रिक संस्थाहरू, सार्वजनिक संस्थान र निजामती प्रशासनका उच्च ओहोदामा पुग्ने थुप्रै ‘डिक ह्विटिङ्गटनहरू’ हाम्रै आँखाका सामुन्ने छन् । निजामती सेवामा छिर्दा ‘देश र जनताको सेवा गर्ने’ कसम खाएका कतिपय उच्चपदस्थ कर्मचारीहरू र राजनीतिक नियुक्ति पाएका प्राज्ञहरू आज कुन बिरालोको सहारामा त्यता पुगेका हुन् ? उनीहरूको बिरालो भनेको क्षमता र योग्यता होइन, बरु नेताको चाकडी, गुटको फेरो समात्ने कला र आर्थिक लेनदेनको चतुर चातुर्य हो ।
जब यी प्रशासनिक र सरकारी निकायका डिकहरू शीर्ष स्थानमा पुग्छन्, उनीहरूले संस्थागत सुधारका ‘मुसाहरू’ मार्नुपर्नेमा उल्टै भ्रष्टाचार, दण्डहीनता र नीतिगत विचलनका मुसाहरू पाल्न थाल्छन् । सार्वजनिक खरिद, ठूला विकास आयोजना र रणनीतिक नियुक्तिहरूमा नीतिगत भ्रष्टाचारको नयाँ जालो बुनिन्छ ।
हिजो सामान्य आर्थिक हैसियतबाट राष्ट्रिय सेवामा प्रवेश गरेका कतिपय पात्रहरू आज अकूत सम्पत्ति र आलिसान जीवनशैलीका मालिक बनेका छन्, जबकि आम नागरिक एउटा सामान्य सरकारी सिफारिस लिन पनि हप्तौँ लाइन बस्न र घुस खुवाउन विवश छ । यस्तै विद्रूप रूप निजी क्षेत्र र कर्पोरेट दुनियाँमा पनि देखिन्छ । बैङ्किङ, व्यापार र ठूला व्यापारिक घरानाका कतिपय प्रमुख कार्यकारीहरू र सञ्चालकहरूले पनि डिककै जस्तो चतुर व्यावसायिक ‘बिरालो’ पालेका छन् ।
आम सर्वसाधारण र बचतकर्ताको पैँसामाथि रजाइँ गर्ने, वित्तीय सुशासनलाई धज्जी उडाउने र गैरकानुनी ढङ्गले व्यक्तिगत साम्राज्य खडा गर्ने अनैतिक खेल आज निजी क्षेत्रको उपल्लो तहमा पनि व्याप्त छ । संस्थाको साख र सर्वसाधारणको रगत–पसिनाको मूल्यमा आफ्नो खल्ती भर्ने यी कर्पोरेट डिकहरूले देशको अर्थतन्त्रलाई नै खोक्रो बनाउँदै लगेका छन् ।
डिकको जीवनमा आमूल परिवर्तन तब आउँछ, जब उसले आफ्नो सानो बचतले एउटा चतुर बिरालो किन्छ । त्यो बिरालो मुसा मार्न खप्पिस हुन्छ । हाम्रो सन्दर्भमा यो ‘बिरालो’ भनेको कुनै जनावर होइन । ती त सत्ता प्राप्तिका लागि रचिने चतुर रणनीतिक चालबाजी, अपवित्र गठबन्धन, विदेशी शक्तिको आशीर्वाद र अवसरवादी सिद्धान्तहीन सम्झौताहरू हुन् । जसरी डिकको बिरालोले राजाको भोजमा उपद्रो मच्चाउने मुसाहरूलाई सखाप पारेर जहाजभरि सुन र हिरा–जवाहरात कमाउने बाटो खोलिदियो, त्यसरी नै नेपाली राजनीतिमा हाम्रा शीर्ष नेताहरूले आफ्नो ‘गठबन्धनरूपी बिरालो’ प्रयोग गरेर प्रतिस्पर्धीहरूलाई पाखा लगाउँछन् ।
आन्तरिक विरोधी र असहज प्रश्नहरूलाई पन्छाउँदै उनीहरू रातारात मन्त्री र प्रधानमन्त्रीको कुर्सीमा पुग्छन् । यहाँ बिरालोले मुसा मात्र मार्दैन; यसले नेताका हिजोका कसम, नैतिकता, दीर्घकालीन दृष्टिकोण र जनताको भरोसालाई समेत निर्ममतापूर्वक मारिदिन्छ ।
इतिहासको पाठ र आजको प्रश्न
डिक ह्विटिङ्टनको कथा मूलतः प्रेरणादायी हो । यसले गरिबीबाट सफलतासम्मको यात्रालाई चित्रण गर्छ । सङ्घर्ष, सही अवसरको उपयोग र अथक मेहनतले मानिसलाई ठूलो उचाइमा पुर्याउन सक्छ भन्ने सन्देश दिन्छ । तर नेपाली सन्दर्भमा यो कथालाई प्रेरणाको साटो व्यङ्ग्यको रूपमा हेर्न सकिन्छ । किनकि यहाँ सफलता व्यक्तिगत र पारिवारिक समृद्धिमा सीमित रहन्छ, राष्ट्रियता र जनताको समृद्धिमा होइन । नेपाली राजनीतिमा बारम्बार दोहोरिने यो चक्रले प्रणालीलाई नै थकित बनाएको छ । संस्थागत विकासको साटो व्यक्तिकेन्द्रित सत्ता, दीर्घकालीन नीतिको साटो अल्पकालीन लाभ र जनसेवाको साटो सत्ताको निरन्तरताले हाम्रो लोकतन्त्रलाई कमजोर बनाइरहेको छ ।
अहिले पनि काठमाडौँको सत्ताको घण्टी बजिरहेकै छ । घण्टीले नयाँ पुस्ताका नेताहरूलाई पनि आकर्षित गरिरहेको छ । घण्टीले उनीहरूलाई सच्चा सेवा र समृद्धिको बाटो देखाउनेछ कि डिक ह्विटिङ्टनकै जस्तो व्यक्तिगत सफलताको चक्रमा फसाइरहनेछ हेर्न बाँकी नै छ ।
कथामा बिरालोले मुसा मात्र मार्छ । तर हाम्रो राजनीतिका बिरालाहरूले सिद्धान्तलाई, नैतिकता, दीर्घकालीन दृष्टिकोण र जनताको आशालाई पनि मारिरहेका छन् । सत्तामा पुगेपछि धेरै नेताहरूको जीवनशैलीमा आउने परिवर्तन आश्चर्यजनक छ । गाउँबाट आएका साधारण कार्यकर्ता अचानक महङ्गा गाडी, ठूला घर, विदेशी अस्पताल र शक्तिशाली सञ्जालको मालिक बन्छन् ।
आफन्त र नजिकका व्यक्तिहरूको तीव्र उन्नति हुन्छ । तर जनताको दैनिक जीवनमा भने खासै परिवर्तन हुँदैन । गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या जसको समाधानका लागि उनीहरू सत्तामा आएका थिए, ती समस्या कथाको सुरुको डिककै जस्तै अपरिवर्तित रहन्छन् । सत्ताको चक्र चलिरहेको छ, घण्टी बजिरहकै छ, तर जनताको जीवनमा स्थायी समृद्धि आउन सकेको छैन ।
चौधौँ शताब्दीका वास्तविक रिचर्ड (डिक) ह्विटिङ्गटन एक असाध्यै उदार, दानी र परोपकारी मेयर थिए, जसले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवा, अस्पताल र शिक्षामा खर्च गरे । तर, डिक ह्विटिङ्गटनको कथाको नेपाली संस्करण भने केवल व्यक्तिगत लाभ र सत्ताको सिंहासन ओगट्ने प्रवृत्तिको पर्याय बनेको छ ।
काठमाडौँको सत्ताको घण्टीले नयाँ पुस्ताका राजनीतिक पात्रहरूलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ । तर, मूल प्रश्न बाँकी नै छ–यो घण्टीले उनीहरूलाई जनताको सच्चा सेवा र समृद्धिको बाटो देखाउनेछ कि उनीहरू पनि पुरानै पात्रहरू जस्तै ‘बिरालो’ को रणनीतिक जालझेल र व्यक्तिगत सफलताको अनन्त चक्रव्यूहमा फसिरहनेछ ? अबको पुस्ताले डिकको बिरालो मात्र होइन, उनको उदार र परोपकारी चरित्रलाई आत्मसात् गर्न सके मात्र यो देशको राजनीतिक हिलो सफा हुन सम्भव छ ।
(लेखक लुम्बिनी वाणिज्य क्याम्पसका अध्यापक हुन्)
कुनै जमानामा बेलायतको एउटा कुनाबाट सुनौलो सडकको सपना बोकेर लन्डन पसेको एक अनाथ ठिटोको कथा आज पनि संसारभरका बालबालिकाका लागि प्रेरणाको स्रोत मानिन्छ । कथा हो–डिक ह्विटिङ्गटन र उनको रैथाने बिरालोको । भोकमरी र गरिबीको हिलोबाट उठेर एउटा चतुर बिरालोको सहारामा लन्डनको ‘लर्ड मेयर’ बन्न सफल डिकको यो कथा नेपाली समाजका लागि भने अचेल दन्त्यकथा रहेन । बरु, यो त वर्तमान नेपाली राजनीतिको सबैभन्दा धारिलो व्यङ्ग्य र विद्रुम ऐना बनेर सिंहदरबार र बालुवाटारका भित्ताहरूमा ठोक्किइरहेको छ ।
कथा वास्तविक इतिहासमा आधारित छ । सन् १४ औँ शताब्दीमा रिचर्ड ह्विटिङ्टन नामका वास्तविक व्यक्तिले लन्डनको मेयर पद चार पटक सम्हालेका थिए र उनी दानवीर तथा सफल व्यापारीको रूपमा प्रसिद्ध थिए । डिक ह्विटिङ्टनको मौलिक कथाको नायक डिक ह्विटिङ्टन एउटा निर्धन गाउँको अनाथ बालक हो । उसले सुन्छ–टाढाको लन्डन सहरमा सडकहरू सुनले बनेका छन्, त्यहाँ मानिसहरू धनी हुन्छन् र भाग्यले साथ दियो भने जो कोही पनि ठूलो पदमा पुग्न सक्छ ।
यो सपनाले लठ्ठिएर ऊ पैदलै लन्डनको यात्रा गर्छ । तर सहर पुग्दा उसको सपना चकनाचुर हुन्छ । सडकहरू सुनले होइन, फोहोर र गरिबीले भरिएका छन् । भोक, थकान र निराशाले ग्रस्त डिक अन्ततः एउटा धनी व्यापारीको घरको ढोकेमा पुग्छ । व्यापारीले दया गरेर उसलाई घरमा काम दिन्छन् । तर रातको समयमा डिकको जीवन नरक बन्छ–ठूलाठूला मुसाहरूले उसलाई सताउँछन् । कथाको सबैभन्दा प्रसिद्ध भाग भने ‘बाउ वेल्स’ को घण्टी हो । जब डिक निराश भएर लन्डन छोड्न लाग्छ, चर्चको घण्टी बज्छ र उसलाई बोलाउँछ–‘फर्क डिक ह्विटिङ्टन, तँ तीन पटक लन्डनको मेयर बन्नेछस् ।’ घण्टीको आवाजले ऊ फर्किन्छ र सफलता प्राप्त गर्छ ।
एक दिन उसले आफ्नो सारा बचत जम्मा गरेर एउटा बिरालो किन्छ । त्यही बिरालोले रातभर मुसाहरू मारिदिन्छ र डिकलाई निदाउन दिन्छ । केही समयपछि व्यापारीले आफ्नो व्यापारिक जहाज विदेश पठाउने तयारी गर्छन् । हरेक कामदारले जहाजमा केही न केही सामान पठाउन पाउँछन् । डिकसँग पैँसा केही छैन, ऊ आफ्नो प्रिय बिरालोलाई मात्र पठाउँछ । जहाज एउटा टाढाको देश पुग्छ जहाँ राजप्रसाद मुसाहरूको विपत्तिमा छ । राजा र रानीले डिकको बिरालोलाई देखेर अत्यन्त खुसी हुन्छन् । बिरालोले सबै मुसा मारिदिन्छ । राजाले बिरालोको बदला ठूलो धनराशि, हीरा, मोती र बहुमूल्य सामान दिन्छन् । डिक अचानक धनी बन्छ । ऊ व्यापारीकी छोरीसँग विवाह गर्छ र अन्ततः लन्डनको तीन पटक मेयर बन्न सफल हुन्छ ।
कथाको नायक डिकले सुनेको थियो–लन्डनका सडकहरू सुनैसुनले छापिएका छन्, त्यहाँ पुग्ने जोकोहीको भाग्य रातारात चम्किन्छ । ठ्याक्कै यही शैलीमा हाम्रा राजनीतिक दलहरूले हरेक निर्वाचनमा सर्वसाधारणलाई सपना बाँड्छन्–‘काठमाडौँलाई लिङ्गापुर बनाउने’, ‘गाउँ–गाउँमा स्मार्ट सिटी’ र ‘घर–घरमा समृद्धि’ । तर, जब एउटा आम नागरिक वा हिजोको भुइँमान्छे यो सपनाको सहरमा आइपुग्छ, उसले सुनको सडक होइन, धुलो, हिलो, अस्तव्यस्त ट्राफिक जाम र भ्रष्टाचारको पहाड मात्र उपहार पाउँछ ।
डिकजस्तै सुरुवाती दिनमा राजनीतिको तल्लो तहमा सङ्घर्ष गर्ने कार्यकर्ताहरूले गुटबन्दी, उपेक्षा र दाउपेचको चरम सास्ती खेप्नुपर्छ । जसरी डिकलाई रातभरि ओछ्यान वरिपरि घुम्ने मुसाहरूले टोकेर सुत्न दिँदैनथे, त्यसरी नै इमानदार कार्यकर्तालाई पार्टीभित्रका आन्तरिक द्वन्द्व, आर्थिक सङ्कट र घात–प्रतिघातका ‘मुसाहरू’ ले रातभर सताइरहन्छन् ।
कथाले हाम्रो राजनीतिक यात्रा, सत्ताको आकाङ्क्षा र सत्तामा पुगिसकेपछि देखिने चरित्रलाई यति मार्मिक रूपमा प्रतिबिम्वित गर्छ कि लाग्छ, यो कुनै विदेशी बालकथा होइन, नेपाली नेतृत्वको आधुनिक संस्करण हो । गाउँबाट झोला बोकेर रित्तो गोडा र रित्तो खल्ती बोकेर काठमाडौँ छिरेका हाम्रा समकालीन नेताहरूको पृष्ठभूमि हेर्दा लाग्छ–उनीहरू सबै डिक ह्विटिङ्गटनकै आधुनिक नेपाली संस्करण हुन् । हिजो क्रान्ति, परिवर्तन र समानताका चर्का नारा लगाउँदै सडकको हिलो कुल्चेर सत्ताको सोपान चढ्न आइपुगेका पात्रहरू र चौधौँ शताब्दीको लन्डनका ती विवश बालकबीचको समानता साँच्चै नै उदेकलाग्दो छ ।
नेपाली राजनीतिसँगको समानता
कथालाई नेपाली राजनीतिको कटु यथार्थसँग घनिष्ठ रूपमा जोडेर हेर्न र बुझ्न सकिन्छ । गाउँबाट काठमाडौँ आएका धेरैजसो नेपाली नेताहरू डिक ह्विटिङ्टनकै संस्करण जस्ता लाग्छन् । उनीहरू पनि अभाव, गरिबी र सङ्घर्षको कठिन बाटोबाट आएका हुन्छन् । काठमाडौँलाई सुनौलो सपनाको सहर ठानेर यात्रा गर्छन् । सहर पुग्दा उनीहरूलाई पनि फोहोर, भ्रष्टाचार, षड्यन्त्र, गुटबन्दी र शक्तिको खेलले स्वागत गर्छ । सुरुका दिनहरू निकै कष्टकर हुन्छन् ।
सानोतिनो पार्टी काम, कार्यकर्ता जीवन, अभाव र रातभरका ‘मुसा’ हरू (षड्यन्त्र, आन्तरिक द्वन्द्व, आर्थिक सङ्कट) ले उनीहरूलाई सताइरहन्छ । उनीहरूले आफ्नो ‘बिरालो’ फेला पार्छन् । यो ‘बिरालो’ का विभिन्न रूप हुन्छन्–कुशल राजनीतिक चालबाजी, गुटगत एकता, सत्ताका लागि गरिने समझदारी, आवश्यक परे विदेशी समर्थन, आर्थिक स्रोतको व्यवस्थापन वा कहिले काहीँ सशस्त्र सङ्घर्षको विरासतसमेत । जसरी डिकको बिरालोले मुसाहरूलाई मारेको थियो, त्यसैगरी राजनीतिक ‘बिरालो’ ले प्रतिस्पर्धी नेताहरू, पुराना शक्तिहरू, आन्तरिक विपक्षी र असहज प्रश्नहरूलाई एकपछि अर्को गर्दै पन्छाउँदै जान्छ । केही वर्षमै यी ‘डिक’ हरू मन्त्री बन्छन्, पार्टीका महत्त्वपूर्ण पदमा पुग्छन् र पटक–पटक प्रधानमन्त्री बन्न सफल हुन्छन् ।
राजनीतिको छाँया : प्रशासनिक र निजी क्षेत्रका ‘डिकहरू’
नेपाली राजनीतिमा ‘बाउ वेल्स’ को घण्टीको स्थान ‘सत्ताको घण्टी’ ले लिएको छ । निर्वाचनमा जति पटक पराजित भए तापनि, जति पटक सरकारबाट बाहिरिए पनि, जति पटक आलोचना भए पनि–यो घण्टी बजिरहन्छ । ‘फर्क, फेरि प्रयास गर, फेरि प्रधानमन्त्री/मन्त्री, सांसद बन्न सक्छौँ' भन्ने अदृश्य आवाजले नेताहरूलाई निरन्तर आकर्षित गरिरहेको छ । फलस्वरूप एउटै व्यक्तिले तीन/चार वा पाँचपटक प्रधानमन्त्री बन्ने दृश्य हामीले बारम्बार देखेका छौँ । यो प्रवृत्ति प्रायः सबै प्रमुख नेताहरूमा देखिन्छ ।
केन्द्र र प्रदेश तहको सत्ता राजनीति, प्रशासनिक सरुवा–बढुवा र कर्पोरेट नियुक्तिमा पनि यो घण्टी अहोरात्र बजिरहेको छ । चाहे जतिसुकै पटक असफल होऊन्, भ्रष्टाचार र अनैतिकताको मुद्दामा जतिसुकै विवादित वा आलोचित होऊन्, एउटा अदृश्य ‘कुर्सी र शक्तिको घण्टी’ ले यी पात्रहरूलाई निरन्तर भनिरहन्छ– फर्क, सेटिङ मिलाऊ, तिमी फेरि सोही पदमा पुग्न सक्छौ । फलतः राजनीतिमा एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री बन्ने, पार्टीको प्रमुख रहने र प्रशासन तथा वित्तीय क्षेत्रमा उही दाग लागेको मान्छे पुनः शक्तिशाली पदमा पुनरावृत्ति भइरहने महारोगले मुलुक ग्रसित छ । अस्थिरता र केही थान सीमित अनुहारहरूको यो चक्रीय प्रणालीले समग्र राज्य व्यवस्थालाई नै शिथिल बनाइसकेको छ ।
सत्ताको यो चक्रमा परेपछि गाउँबाट आएका साधारण कार्यकर्ताहरू अचानक महङ्गा गाडी, आलिसान महल र वैदेशिक अस्पतालका मालिक बन्छन् । नातागोता र आसेपासेहरूको जीवनस्तरमा चमत्कारिक रूपान्तरण हुन्छ, तर जसको नाममा राजनीति गरिएको थियो, ती जनताको दैनिक जीवन भने कथाको सुरुवाती डिकको जस्तै गरिबी र अभावको हिलोमै छटपटाइरहेको छ ।
यो प्रवृत्तिको ऐजेरु समाजका हरेक अङ्गमा फैलिएको छ । राज्यका लोकतान्त्रिक संस्थाहरू, सार्वजनिक संस्थान र निजामती प्रशासनका उच्च ओहोदामा पुग्ने थुप्रै ‘डिक ह्विटिङ्गटनहरू’ हाम्रै आँखाका सामुन्ने छन् । निजामती सेवामा छिर्दा ‘देश र जनताको सेवा गर्ने’ कसम खाएका कतिपय उच्चपदस्थ कर्मचारीहरू र राजनीतिक नियुक्ति पाएका प्राज्ञहरू आज कुन बिरालोको सहारामा त्यता पुगेका हुन् ? उनीहरूको बिरालो भनेको क्षमता र योग्यता होइन, बरु नेताको चाकडी, गुटको फेरो समात्ने कला र आर्थिक लेनदेनको चतुर चातुर्य हो ।
जब यी प्रशासनिक र सरकारी निकायका डिकहरू शीर्ष स्थानमा पुग्छन्, उनीहरूले संस्थागत सुधारका ‘मुसाहरू’ मार्नुपर्नेमा उल्टै भ्रष्टाचार, दण्डहीनता र नीतिगत विचलनका मुसाहरू पाल्न थाल्छन् । सार्वजनिक खरिद, ठूला विकास आयोजना र रणनीतिक नियुक्तिहरूमा नीतिगत भ्रष्टाचारको नयाँ जालो बुनिन्छ ।
हिजो सामान्य आर्थिक हैसियतबाट राष्ट्रिय सेवामा प्रवेश गरेका कतिपय पात्रहरू आज अकूत सम्पत्ति र आलिसान जीवनशैलीका मालिक बनेका छन्, जबकि आम नागरिक एउटा सामान्य सरकारी सिफारिस लिन पनि हप्तौँ लाइन बस्न र घुस खुवाउन विवश छ । यस्तै विद्रूप रूप निजी क्षेत्र र कर्पोरेट दुनियाँमा पनि देखिन्छ । बैङ्किङ, व्यापार र ठूला व्यापारिक घरानाका कतिपय प्रमुख कार्यकारीहरू र सञ्चालकहरूले पनि डिककै जस्तो चतुर व्यावसायिक ‘बिरालो’ पालेका छन् ।
आम सर्वसाधारण र बचतकर्ताको पैँसामाथि रजाइँ गर्ने, वित्तीय सुशासनलाई धज्जी उडाउने र गैरकानुनी ढङ्गले व्यक्तिगत साम्राज्य खडा गर्ने अनैतिक खेल आज निजी क्षेत्रको उपल्लो तहमा पनि व्याप्त छ । संस्थाको साख र सर्वसाधारणको रगत–पसिनाको मूल्यमा आफ्नो खल्ती भर्ने यी कर्पोरेट डिकहरूले देशको अर्थतन्त्रलाई नै खोक्रो बनाउँदै लगेका छन् ।
डिकको जीवनमा आमूल परिवर्तन तब आउँछ, जब उसले आफ्नो सानो बचतले एउटा चतुर बिरालो किन्छ । त्यो बिरालो मुसा मार्न खप्पिस हुन्छ । हाम्रो सन्दर्भमा यो ‘बिरालो’ भनेको कुनै जनावर होइन । ती त सत्ता प्राप्तिका लागि रचिने चतुर रणनीतिक चालबाजी, अपवित्र गठबन्धन, विदेशी शक्तिको आशीर्वाद र अवसरवादी सिद्धान्तहीन सम्झौताहरू हुन् । जसरी डिकको बिरालोले राजाको भोजमा उपद्रो मच्चाउने मुसाहरूलाई सखाप पारेर जहाजभरि सुन र हिरा–जवाहरात कमाउने बाटो खोलिदियो, त्यसरी नै नेपाली राजनीतिमा हाम्रा शीर्ष नेताहरूले आफ्नो ‘गठबन्धनरूपी बिरालो’ प्रयोग गरेर प्रतिस्पर्धीहरूलाई पाखा लगाउँछन् ।
आन्तरिक विरोधी र असहज प्रश्नहरूलाई पन्छाउँदै उनीहरू रातारात मन्त्री र प्रधानमन्त्रीको कुर्सीमा पुग्छन् । यहाँ बिरालोले मुसा मात्र मार्दैन; यसले नेताका हिजोका कसम, नैतिकता, दीर्घकालीन दृष्टिकोण र जनताको भरोसालाई समेत निर्ममतापूर्वक मारिदिन्छ ।
इतिहासको पाठ र आजको प्रश्न
डिक ह्विटिङ्टनको कथा मूलतः प्रेरणादायी हो । यसले गरिबीबाट सफलतासम्मको यात्रालाई चित्रण गर्छ । सङ्घर्ष, सही अवसरको उपयोग र अथक मेहनतले मानिसलाई ठूलो उचाइमा पुर्याउन सक्छ भन्ने सन्देश दिन्छ । तर नेपाली सन्दर्भमा यो कथालाई प्रेरणाको साटो व्यङ्ग्यको रूपमा हेर्न सकिन्छ । किनकि यहाँ सफलता व्यक्तिगत र पारिवारिक समृद्धिमा सीमित रहन्छ, राष्ट्रियता र जनताको समृद्धिमा होइन । नेपाली राजनीतिमा बारम्बार दोहोरिने यो चक्रले प्रणालीलाई नै थकित बनाएको छ । संस्थागत विकासको साटो व्यक्तिकेन्द्रित सत्ता, दीर्घकालीन नीतिको साटो अल्पकालीन लाभ र जनसेवाको साटो सत्ताको निरन्तरताले हाम्रो लोकतन्त्रलाई कमजोर बनाइरहेको छ ।
अहिले पनि काठमाडौँको सत्ताको घण्टी बजिरहेकै छ । घण्टीले नयाँ पुस्ताका नेताहरूलाई पनि आकर्षित गरिरहेको छ । घण्टीले उनीहरूलाई सच्चा सेवा र समृद्धिको बाटो देखाउनेछ कि डिक ह्विटिङ्टनकै जस्तो व्यक्तिगत सफलताको चक्रमा फसाइरहनेछ हेर्न बाँकी नै छ ।
कथामा बिरालोले मुसा मात्र मार्छ । तर हाम्रो राजनीतिका बिरालाहरूले सिद्धान्तलाई, नैतिकता, दीर्घकालीन दृष्टिकोण र जनताको आशालाई पनि मारिरहेका छन् । सत्तामा पुगेपछि धेरै नेताहरूको जीवनशैलीमा आउने परिवर्तन आश्चर्यजनक छ । गाउँबाट आएका साधारण कार्यकर्ता अचानक महङ्गा गाडी, ठूला घर, विदेशी अस्पताल र शक्तिशाली सञ्जालको मालिक बन्छन् ।
आफन्त र नजिकका व्यक्तिहरूको तीव्र उन्नति हुन्छ । तर जनताको दैनिक जीवनमा भने खासै परिवर्तन हुँदैन । गरिबी, बेरोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधारका समस्या जसको समाधानका लागि उनीहरू सत्तामा आएका थिए, ती समस्या कथाको सुरुको डिककै जस्तै अपरिवर्तित रहन्छन् । सत्ताको चक्र चलिरहेको छ, घण्टी बजिरहकै छ, तर जनताको जीवनमा स्थायी समृद्धि आउन सकेको छैन ।
चौधौँ शताब्दीका वास्तविक रिचर्ड (डिक) ह्विटिङ्गटन एक असाध्यै उदार, दानी र परोपकारी मेयर थिए, जसले आफ्नो व्यक्तिगत सम्पत्ति समाजसेवा, अस्पताल र शिक्षामा खर्च गरे । तर, डिक ह्विटिङ्गटनको कथाको नेपाली संस्करण भने केवल व्यक्तिगत लाभ र सत्ताको सिंहासन ओगट्ने प्रवृत्तिको पर्याय बनेको छ ।
काठमाडौँको सत्ताको घण्टीले नयाँ पुस्ताका राजनीतिक पात्रहरूलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ । तर, मूल प्रश्न बाँकी नै छ–यो घण्टीले उनीहरूलाई जनताको सच्चा सेवा र समृद्धिको बाटो देखाउनेछ कि उनीहरू पनि पुरानै पात्रहरू जस्तै ‘बिरालो’ को रणनीतिक जालझेल र व्यक्तिगत सफलताको अनन्त चक्रव्यूहमा फसिरहनेछ ? अबको पुस्ताले डिकको बिरालो मात्र होइन, उनको उदार र परोपकारी चरित्रलाई आत्मसात् गर्न सके मात्र यो देशको राजनीतिक हिलो सफा हुन सम्भव छ ।
(लेखक लुम्बिनी वाणिज्य क्याम्पसका अध्यापक हुन्)
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)