मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गड्यौलापालनतर्फ किसान आकर्षित

baahrakhari.com · Sun Oct 17 01:14:00 GMT 2021

वालिङ । यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् ।

नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवद्र्धन परियोजना’ अन्तर्गत वालिङका १४ वटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । “स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यो नगरपालिका फोहोरमैला व्यवस्थापनमा समेत पटक÷पटक उत्कृष्ट भई पुरस्कृत भइसकेको छ”, अध्यक्ष गुरुङले भने, “मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्नेछौँ ।” खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए । नगरपालिकाभित्र ३१० गाउँ छन् । ती गाउँबाट एक÷एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरुले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रासायनिक मलको प्रयोगमा कमी गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)