कालीगण्डकी बाढी : तातोपानी कुण्ड बगरमा परिणत
gorkhapatraonline.com · Wed Oct 14 18:00:58 GMT 2026

असोज दोस्रो साता आएको कालीगण्डकी बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्डको अस्तित्व नै मेटाइदिएको छ । कालीगण्डकी नदीको कटानले कुण्डका संरचना बगाएपछि कुनै समय पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्ड अहिले बगरमा परिणत भएको छ । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब एक करोड रुपियाँको लगानी बाढीले बगाएर क्षति पु¥याएको छ ।
तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत ९ वर्षदेखि यहाँ पूर्वाधार निर्माण गर्दै आएको थियो । तर, असोज ११ गते कालीगण्डकीमा आएको बाढीले कुण्डसहितका संरचना बगाएर बगरमा परिणत गरिदिएको छ । कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ । वर्षौँको प्रयास र लगानीमा निर्माण गरिएका संरचना बाढीले बगाएपछि तातोपानी कुण्डको पूर्वाधार पूर्ण रूपमा ध्वस्त भएको र अहिले सम्मको लगानी खेर गएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)