माथिल्लो तामाकोसीका कर्मचारी आन्दोलित बुधबारबाट उत्पादन बन्द गर्ने चेतावनी
nayapatrikadaily.com · Wed Nov 03 00:41:00 GMT 2021
स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत करार कर्मचारीहरू आन्दोलित भएका छन् । करार र ज्यालादारी कर्मचारीहरूलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग राख्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वतन्त्र कर्मचारी युनियन नेपालले १३ कात्तिकदेखि आन्दोलन सुरु गरेको हो । उनीहरूले सोमबार कालोपट्टी बाँध्ने, मंगलबार दुई घन्टा पेनडाउन गरी सांकेतिक विरोध जनाएका थिए । दुई दिनसम्म सांकेतिक विरोधलाई आयोजनाको व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बुधबारबाट आयोजनाको उत्पादन कार्य नै बन्द गर्ने तयारी गरेको स्वतन्त्र कर्मचारी युनियनका सचिव शेषनारायण श्रेष्ठले जानकारी दिए । आयोजनाको व्यवस्थापन पक्षले समस्या समाधानका लागि वार्ता र संवाद नगरी उल्टै धम्किपूर्ण व्यवहार गरेकाले आयोजना बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
आन्दोलनरत स्वतन्त्र कर्मचारी युनियन र आयोजनाबीच २ कात्तिक ०७८ मा ६ महिनाभित्र अस्थायी र करार कर्मचारीहरूलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने सम्झौता भएको थियो । सो अवधिसम्म नयाँ कर्मचारी नियुक्त नगर्ने भद्र सहमति भए पनि आयोजनाको व्यवस्थापनले कर्मचारीको कृत्रिम अभाव सिर्जना गरी आफन्तलाई रोजगारी दिएको युनियनको आरोप छ । चोरबाटोबाट कर्मचारी भर्ना सुरु गरेपछि आफूहरूसँगको सम्झौतासमेत कार्यान्वयन नहुने देखेर कडा आन्दोलन गर्नुपरेको युनियनका सचिव श्रेष्ठले बताए । उनले भने, ‘तत्काल माग सम्बोधन नभए ६ वटै युनिटबाट उत्पादन कार्य बन्द हुनेछ ।’ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा एक सय १४ जना अस्थायी, करार कर्मचारी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)