मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेबाट भावी प्रधानमन्त्री ओली नै, किन ?

annapurnapost.com · Tue Aug 30 01:03:00 GMT 2022

काठमाडौं : नेकपा (एमाले) ले आगामी निर्वाचनपछि केपी शर्मा ओली किन भावी प्रधानमन्त्री भनेर स्पष्ट पारेको छ। दुई–दुईपटक प्रधानमन्त्री भइसकेका ओलीलाई किन फेरि प्रधानमन्त्री बनाउनुपर्‍यो भन्ने प्रश्नमा एमालेले त्यसको कारण दिएको छ। एमाले महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने योजनासाथ अगाडि बढेको बताए ।

महासचिव पोखरेलले नेपालको राजनीतिलाई सही बाटोमा डोर्‍याउन भावी प्रधानमन्त्रीका रूपमा ओलीलाई अघि सारेको बताए। अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्नुपर्ने विभिन्न कारणहरू बताउँदै महासचिवले स्पष्ट पारे। उनले भने, ‘अध्यक्ष ओली नाकाबन्दीको डटेर सामना गर्ने, संविधान निर्माणमा बाह्य हस्तक्षेपको दृढतापूर्वक सामना गर्ने, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, हिंसा पीडितहरूको संरक्षक र देशको विकास र समृद्धिलाई अगाडि बढाउने अत्यन्त सक्षम नेतृत्व हुनुहुन्छ। उहाँले अगाडि बढाएका विकास र समृद्धिका योजना अगाडि बढाउन आगामी निर्वाचनपछिको एमालेको प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको हो।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)