नेपालगन्जमा कर्फ्यु खुकुलो बनाइँदै
ekantipur.com · Wed Oct 04 16:54:28 GMT 2023
नेपालगन्ज — सामाजिक सञ्जालमा लेखिएको स्टाटसबाट सुरु भएको दुई समुदायबीचको तनाव मत्थर हुँदै गएको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले कर्फ्युलाई खुकुलो बनाउँदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको छ । उक्त बैठकले सद्भावविरोधी गतिविधि गर्नेहरूको पहिचान गरी तत्काल कारबाही गर्ने निर्णय पनि गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार सूचना जारी गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । सूचनामा कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायलाई कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमका संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरिएको छ । बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले सबैका हितका लागि धार्मिक सद्भाव कायम गर्नुपर्ने बताए । उनले भने, ‘सबैले सबैका धर्म र आस्थालाई सम्मान गर्नुपर्छ । नेपालगन्जमा धार्मिक एकता कायम गर्न सबै आफ्नो ठाउँबाट जिम्मेवार भएर सद्भाव बलियो बनाउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)