सकसपूर्ण दसैँयात्रा
barnanmedia.com · Thu Oct 09 23:14:10 GMT 2025

काठमाडौँ, २४ असोज : सामान्य अवस्थामै पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दसैँ सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दसैँको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसकोे टिकट पाउन पनि मुस्किल पर्छ । सधैँजसो दसैँको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो ।
दसैँको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)