महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी
ratopati.com · Mon May 11 22:41:27 GMT 2026

सुनसरी । इनरुवामा जारी प्रथम कोसीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरी फाइनलको यात्रा तय गरेको हो ।
प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १८–१७ अङ्कले हराउँदै नेपाल प्रहरी फाइनलमा प्रवेशको आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए । खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण भएकी थिइन् ।
त्यसैगरी, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । कोसी प्रदेशलाई २५ का विरुद्ध ३३ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको राष्ट्रिय कबड्डीका अन्तर्राष्ट्रिय रेफरी तथा आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले बताए ।
मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी म्याच भएकी कर्णलाई सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले हस्तान्तरण गरेका थिए ।
प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा समूहलाई रु २५–२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)