आरक्षपीडित परिवारको पुनर्स्थापना गर्न माग
gorkhapatraonline.com · Fri Oct 16 05:14:03 GMT 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारको पुनर्स्थापनाको मागसहित आरक्ष पीडित सङ्घर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइलामार्फत समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्रसहित पठाएको हो । विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित आरक्षपीडित परिवार न्यायसहित उचित व्यवस्थापन र पुनर्स्थापनाको आशा गर्दै आएका छन् । समस्या समाधानका लागि पटक पटक आयोग तथा समिति गठन गरेर सरकारले आशा देखाए पनि आफूहरूको समस्या भने हालसम्म समाधान नभएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बताउनुभयो ।
वर्तमान सरकारले पनि समस्या समाधान गर्ने आशा देखाए पनि उचित व्यवस्थापन नगरिदिँदा पीडित परिवार भने महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)