मन्त्रिपरिषद्का १३ निर्णयहरू: गहुँको समर्थन मूल्यदेखि संकटग्रस्त क्षेत्र घोषणासम्म
corporatenepal.com · Fri Oct 16 08:55:39 GMT 2026

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल चार हजार १०७ रुपियाँ निर्धारण गरेको छ । साथै, बाढीपहिरोबाट अतिप्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
बैठकले जापान सरकारबाट प्राप्त हुने २९ करोड ८० लाख जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपतकालीन अनुदान र जर्मनी सरकारबाट उपलब्ध हुने २ करोड युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, बुढीगण्डकी विकास प्राधिकरण विधेयक र राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, गत असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि सोही अवधिका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)