मौद्रिक नीति समीक्षापछि चार खर्ब बढ्यो पुँजीकरण
nayapatrikadaily.com · Sat Dec 23 00:25:00 GMT 2023
मौद्रिक नीतिपछि सेयर लगानीकर्ताको बजार पुँजीकरण बढेको छ । गत कात्तिक २२ मा राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि लगानीकर्ताको बजार पुँजीकरण चार खर्ब रुपैयाँले बढेको हो । मौद्रिक नीति जारी हुनु एक दिनअघि कात्तिक २१ मा बजार पुँजीकरण २८ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । तर, मौद्रिक नीतिपछि सेयर बजार दुई सय ६८ दशमलव शून्य तीन अंकले बढ्दा लगानीकर्ताको लगानी पनि बढेको हो । लगानी बढेसँगै बजार पुँजीकरण बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
मौद्रिक नीतिपछि १० दिन खुलेको सेयर कारोबारमा आठ दिन नेप्से सूचक बढेको छ भने दुई दिन घटेको छ । यसबीचमा करिब एक वर्षयताकै सर्वाधिक कारोबारसमेत हुन पुगेको थियो । लामो समयदेखि नेप्से सूचक र कारोबार दुवै बढ्न नसकेको अवस्थामा मौद्रिक नीतिको बलमा नेप्से एक हजार आठ सयको मनोवैज्ञानिक विन्दुबाट उक्लिएर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा आइपुगेको छ । यस साता पाँच दिन भएको कारोबारमा नेप्से सूचक चार दिनसम्म लगातार बढेको थियो भने अन्तिम दिन बिहीबार नेप्से सूचक ३२ दशमलव ७७ अंकले घटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)