चार महिनापछि त्रिविले पायो उपकुलपति
nayapatrikadaily.com · Fri Feb 23 00:28:00 GMT 2024
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नियुक्त गरेका हुन् । यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि १७ कात्तिकदेखि उपकुलपति पद रिक्त थियो ।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिवि सभाका सदस्य उपप्राध्यापक चन्द्रकला घिमिरे सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४२ जनाको आवेदन रुजु भएको थियो भने एकजनाको मापदण्ड नै नपुगेर अस्वीकृत भएको थियो । छनोट प्रक्रिया सुरु भएपछि समितिले ४२ जनामध्येबाट १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो । त्यसबाट पनि आइतबार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीनजनामध्येबाट दोस्रो नम्बर रहेका प्रा.डा. बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)