मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजमार्गका होटेलमा मूल्यसूची अनिवार्य

gorkhapatraonline.com · Sat Oct 17 00:24:27 GMT 2026

सरकारले राजमार्ग र राजमार्गआसपासका होटेल तथा रेस्टुरेन्टमा खाना, खाजा तथा अन्य वस्तु वा सेवाको मूल्यसूची सबै ग्राहकले देख्ने र बुझ्ने गरी राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजमार्ग र आसपासका क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्टका सञ्चालकलाई मूल्यसूची, बिलबीजकसहित पाँच वटा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।

मापदण्डमा वास्तविक कारोबार मूल्य खुल्ने बिल वा बीजक उपलब्ध गराउनुपर्ने, खाद्यवस्तुको तयारी, भण्डारण, पकाउने, बिक्रीवितरण तथा सेवा प्रवाहका क्रममा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी प्रचलित मापदण्डको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ । यस्तै भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालयलगायतका स्थानमा आवश्यक सरसफाइ कायम गर्नुपर्ने र म्याद गुज्रिएका वा अखाद्यवस्तुको बिक्रीवितरणमा मापदण्डले रोक लगाएको छ । विभागका निर्देशक अनिल किराँतीले ग्राहकलाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न मापदण्ड कार्यान्वयनलाई कडाइ गरेको जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा कानुनविपरीत काम गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई कारबाही गरिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)