काँठमा दसैँ
gorkhapatraonline.com · Sat Oct 17 03:27:34 GMT 2026

पहिले खेतीयोग्य जमिन धेरै थियो । अहिलेका जस्ता बाटा र छ्यापछ्याप्ती घर उतिबेला थिएनन् । बस्ती पातला थिए । गाउँभरिका बारीका पाटामा लगाइएका मकैका बोटले घर र बस्तीलाई झ्याम्म छोपेका हुन्थे । झ्याउँकिरी र अन्य किराका आवाजले रातलाई मात्र होइन, साँझमा पनि डरलाग्दो बनाउँथ्यो । खेतमा धान लहलहाउँदै बाला लाग्न सुरु गरेका हुन्थे । अहिलेको जस्तो बिजुली बत्ती थिएन । उतिबेलाका पराले र टायलका घरबाट अहिलेको जस्तो कौसी, बार्दली र छतबाट आकाश र गाउँ हेर्न सकिँदैनथ्यो तर आँगन र खुला ठाउँबाट हेर्दा पनि परपरसम्म छ्याङ्ग खुलेर सबैका घर–पिँढी देखिन्थे ।
भदौ महिनातिर मकैबारीको ढोड फाँड्न थालेपछि बल्ल गाउँ छ्याङ्ग उज्यालो हुन्थ्यो । बाटाका छेउछाउका बारीमा बाली जोगाउन नर्कट गाडेर परालको जुइनो (डोरी) ले साटो लगाई बारबेर गरिएको हुन्थ्यो । मकै भाँचेपछि छरेको तोरीबारीमा पहेँलपुर फुलेको र खेतमा लहलह गर्दै धानको गाँज पसाउन लागेका हुन्थे । बारीमा भएका फर्सी, घिरौँला, लौका जस्ता लहरामा चढेका झ्याङ फाँडिन्थे । सहरमा जस्तो दसैँ फुत्त काँठमा आइपुग्दैनथ्यो । भदौदेखि मकैका बोट ढलेपछि बल्ल दसैँ काँठतिर चियाउन थाल्थ्यो । यसरी दसैँको रौनक सुस्तरी सुस्तरी, कहिले असोज त कहिले कात्तिकतिर रमाइलो चाड बनेर घरसम्मै आइपुग्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)