नवदुर्गा उपासना
gorkhapatraonline.com · Sat Oct 17 03:48:56 GMT 2026

बडादसैँ नेपालको राष्ट्रिय महान् चाड हो । यो विशेष गरी हिन्दु धर्मावलम्बीले अत्यन्त हर्षोल्लासका साथ मनाउने भए पनि नेपाल र नेपाली समाजमा यसको विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको छ । नेपाली समाजमा र समुदाय विशेषमा आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म एक पक्षभर वा १५ दिन मनाइने यो चाडले नेपाली समाजलाई सांस्कृतिक एकताको सूत्रमा आबद्ध राख्ने काम गर्छ । दसैँका सुरुका नौ दिनलाई नवरात्र भनिन्छ र यी नौ दिनमा नवदुर्गाको पूजा गरिन्छ । बडादसैँ मुख्य रूपमा शक्तिकी देवी दुर्गाको पूजाआराधना गरिने पर्व हो । यसको १० औँ दिनलाई ‘विजयादशमी’ पनि भनिन्छ । शारदीय नवरात्र शरद् ऋतुको स्वच्छ, सुखद तथा मनोहारी मौसममा मनाइने हुनाले यसलाई शारदीय उत्सव पनि भनिन्छ । यो चाडले असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय भएको सन्देश दिन्छ । यस पर्वका अवसरमा नेपाली आआफ्ना घरमा दुर्गा स्थापना गरेर अथवा विभिन्न शक्तिपीठमा गएर दुर्गामाताको पूजाआराधना गरी आद्याशक्ति दुर्गादेवीको उपासना गर्छन् । यस अवसरमा नयाँ वस्त्र लागाई आफन्तसँग भेटघाट गरी मान्यजनबाट टीका लगाई आशीर्वाद लिने, मिठा परिकार खाने र रमाउने गर्छन् । विभिन्न शक्तिपीठमा धार्मिक तीर्थाटन पनि गर्छन् । यस्तै घुमघाम गर्ने प्रचलन पनि बढ्दै आएको पाइन्छ ।
मनुस्मृतिमा ‘जहाँ नारीहरू पुजिन्छन्, त्यहाँ देवताहरू रमाउँछन् ।’ (यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः (मनु.३।५६) ।) भनिएको पाइन्छ । दुर्गाशप्तशतीमा पनि ‘सम्पूर्ण प्राणीमा शक्ति रूपमा अवस्थित जुन देवी हुन्, तिनलाई नमस्कार छ’ । (या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । ...नमस्तस्यै नमोनमः (सप्तशती, ५।३४) भनिएकाले पनि शास्त्रका मान्यतालाई आत्मसात् गरी देवीशक्ति/नारीशक्तिको सम्मानपूर्वक अभिवादन गरिँदा देवीशक्तिका उपासक श्रद्धावनत हुन्छन् । वर्षभरिमा महिनैपिच्छेका शुक्लपक्षीय नवरात्र हुन्छन् तर तीमध्ये माघ शुक्ल, चैत्र शुक्ल, आषाढ शुक्ल र आश्विन शुक्लका गरी चार थरिका नवरात्रमा दुर्गाको विशेष उपासना गरिन्छ । तिनमा माघ र आषाढका नवरात्रलाई गुप्त नवरात्र भनिन्छ । चैत्र शुक्ल वा वासन्ती नवरात्रलाई र शरद् शुक्ल वा शारदीय नवरात्रलाई प्रकट वा प्रत्यक्ष नवरात्र मानिन्छ । त्यसमा पनि वासन्ती नवरात्रलाई चैते दसैँ वा सानो दसैँ भन्ने गरिन्छ भने शारदीय नवरात्रलाई बडादसैँ भनिन्छ । वासन्ती नवरात्र/चैते दसैँ र शारदीय नवरात्र/बडादसैँको चर्चासँगै शारदीय नवरात्रमा दुर्गादेवीको विशेष आराधना गर्ने कुराको उल्लेख देवीभागवत् पुराणमा शरद्कालमा विशेष विधिपूर्वक पूजा गर्नु तथा वसन्तमा पनि त्यसै गरी प्रेमपूर्वक पूजा गर्नू । (शरत्काले विशेषेण कर्तव्यं विधिपूर्वकम् । वसन्ते च प्रकर्तव्यं तथैव प्रेमपूर्वकम् ।। ...(श्रीमद्देवीभागवत ३।२६।३,४,५) । भनिएको पाइन्छ । अतः वसन्तमा भन्दा शरद्मा विधिपूर्वक गनुपर्ने भन्ने त प्रस्टै छ । शारदीय नवरात्र शरद् ऋतुको आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई लिइन्छ । दैवीशक्तिका उपासक एकभक्त भई नियममा रही देवीको पूजाआराधना गर्छन् । यसको विधानतन्त्र तथा तन्त्रसम्बद्ध पुराणका वचनमा पाइन्छ । यिनै शास्त्रीय आधारबाट सामाजिक एवं राष्ट्रिय रूपमा नै शारदीय नवरात्र, नवदुर्गापूजा (बडादसैँ) लाई विशेष महत्वका साथ लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)