इतिहासमा हराएका सुनिता र नरेन्द्र
nagariknews.nagariknetwork.com · Sat Oct 17 03:57:26 GMT 2026

सुनिता रेग्मी रेडियो नेपालको स्थापनाकालीन समयकी गायिका हुन्। उनले नेपालको आधुनिक गीतसङ्गीतलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलिन्। १९९१ साउन ६ गते ओखलढुङ्गा ३ नम्बर सिंहदेवी गाविसस्थित कुवापानीको ठकुरी परिवारमा जन्मिएकी सुनिताले २००९ सालमा नरेन्द्र रेग्मीसँग विवाह गरेकी थिइन्। ‘मेरो विवाहचाहिँ शंकर लामिछाने (भान्जा) ले मलाई मागेर आफ्ना मामालाई विवाह गराइदिएको हो,’ पंक्तिकारसँगको भेटमा सुनिताले भनेकी थिइन्। नरेन्द्र रेग्मी नेपाली कांग्रेसको स्थापनाकालताका अर्थात् सन् १९४७ को जनवरी २५/२६ मा भारतको कलकत्ताको भवानीपुरस्थित खाल्सा हाइस्कुलमा घोषणा भएको ‘नेपाली राष्ट्रिय कांग्रेस’को संस्थापक कोषाध्यक्ष थिए। सुनिता र नरेन्द्रका तीन सन्तान भए, दुई छोरा र एक छोरी। तीमध्ये एक छोरालाई नुहाउन जाँदा नारायणीले बगायो। छोरी पनि बितिन्। एक छोरा अमेरिका पुगे। नरेन्द्रको पनि ८९ वर्षको उमेरमा २०६६ वैशाख ४ गते राति नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भयो।
नरेन्द्र रेग्मीको परिवार सम्पन्न र खानदानी थियो। त्यसको छाप उनमा जीवनको अन्त्यसम्म पनि रहिरह्यो। जीवनमा जस्तोसुकै दुःख पर्दा पनि अरूसँग नझुक्ने बानीले उनको स्वाभिमानको परिचय दिन्थ्यो। उनी आत्मनिर्भर थिए। १९७७ पुस २३ गते धनुषाको धनौजी कटैयामा जन्मेका रेग्मीका पिता शिवप्रसाद र माता ललितादेवी हुन्। पुख्र्यौली थलो धादिङको गजुरी भए तापनि रेग्मीका काका बडाबाहरूका सन्तान भने जनकपुरधामतिर पनि बस्ने गर्छन्। उनका पिताको जागिरका कारण नरेन्द्रले धेरैतिर बस्नुपरेको थियो। तीमध्ये दरभंगा, पटना, मुगेर, बैजनाथधाम आदि मुख्य थिए। वनारसचाँही स्थायी बसोबास केन्द्र थियो।–नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक, डा. तुलसी भट्टराई, २०६४) डा. तुलसी भट्टराईकृत पुस्तक ‘नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक’मा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शुभकामना सन्देशमा लेखेका छन्, ‘नेपाली कांग्रेसको स्थापनाकालदेखि यससित सम्बद्ध भएर यसका हरेका गतिविधिमा पार्टीमा क्रियाशील रहेर नेपालमा प्रजातन्त्रको स्थापनामा नरेन्द्र रेग्मीले महत्त्वपूर्ण योगदान पु¥याउनुभएको थियो। स्थापनाकाल २००३ देखि २००७ सालसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बनारसमा उहाँकै वासस्थान, ६५ दुध विनायकमा रहेको थियो। अनेक पटक नेपाली कांग्रेसको कार्यालयको खानतलासी लिएर ऐतिहासिक दस्ताबेजहरू नष्ट गरियो। त्यसैले महŒवपूर्ण कालखण्डमा इतिहासले सुम्पेको अभिभारा पूरा गर्ने हाम्रा कतिपय सेनानीहरूबारे यथार्थ जानकारी जनसमक्ष आउन सकेन।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)