मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा धनुषा अधिवेशन स्थगित

baahrakhari.com · Tue Jun 09 08:27:44 GMT 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनुषा जिल्ला अधिवेशन स्थगित भएको छ । मंगलबार आयोजना गरिएको अधिवेशन विवाद हुनसक्ने आकलन गर्दै अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको हो ।

केन्द्रीय अनुशासन आयोगले धनुषा सभापति लक्षमेश्वर यादवलाई सोमबार कारबाही गरेकाे छ । सोही विषयमा असन्तुष्ट पक्षले विवाद गर्न सक्ने भन्दै अधिवेशन स्थगित गरिएको जनाइएको छ ।

सभापति यादवलाई कारबाही गरेपछि आज खुलासत्र सुरु हुन सकेन । खुलासत्र हुन लाग्दा जिल्ला पर्यवेक्षक बेचन यादवले स्टेजमा चढेर कसैको चरित्र हत्या गरेर अधिवेशन गर्न नदिने अडान लिएका थिए । सभापतिको कारबाहीको विषयलाई लिएर चुनाव हुन नदिने भनेपछि खुलासत्र समेत सुरु नहुँदै अधिवेशन स्थगित भएको छ ।

सभापति यादवमाथि पार्टीको विधान, आचारसंहिता, कार्यविधि, निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिहरू, पार्टीको मूल्यमान्यता, हित अनुकूल पदीय जिम्मेवारीमा रही कार्यसम्पादन गर्न नसकेको, अनावश्यक पदीय हस्तक्षेप गरेको, समूहगत राजनीतिलाई बढावा दिएको लगायतको आरोप छ । सोही विषयलाई लिएर केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पदीय जिमेवारीबाट हटाउने निर्णय गरेको बताए ।

मधेस प्रदेशका अधिकांश जिल्लामा रास्वपाको अधिवेशनको क्रममा विवाद उत्पन्न भएको छ । जसका कारण अधिवेशनको प्रक्रिया अघि बढ्न सकेको छैन । केही ठाउँमा खुलासत्र सम्पन्न भएपछि बन्दसत्रमा विवाद उत्पन्न हुँदा अधिवेशन रोकिएको छ भने कुनै ठाउँमा खुलासत्र समेत हुन सकेको छैन ।

#धनुषा

#जिल्ला अधिवेशन

#स्थगित

#रास्वपा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय