एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल
ekantipur.com · Sat Sep 06 17:14:51 GMT 2025

भक्तपुर — सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा कर्मचारी शनिबार बिहान एउटा मेडिकल रिपोर्टको नतिजा थाहा पाउँदा निकै खुसी भए । रिपोर्ट थियो– बिरामी लक्ष्मणकिशोर चौधरीले शुक्रबार तीन लिटर पिसाब गरे । बिरामीको प्रगति विवरण हेर्न भक्तपुरस्थित अस्पतालको पोस्ट अपरेसन कक्षमा पुगेका डा. पुकार श्रेष्ठको आँखा हर्षले चम्किलो भयो । ‘उहाँको मिर्गौला प्रत्यारोपण भएको यो तेस्रो पटक हो । यसरी तेस्रो पटक प्रत्यारोपण गरिएको घटना नेपालमै पहिलो हो’ डा. श्रेष्ठले भने, ‘प्रत्येक पटक प्रत्यारोपण जटिल बन्दै जाने हुँदा जोखिम उच्च हुन्छ, यसका बाबजुद हामीले सफल प्रत्यारोपण गरेका छौं ।’
अस्पतालले स्थापनाको १३ वर्षमा १५ सयको मिर्गौला प्रत्यारोपण गरे पनि हालसम्म दोस्रो पटक प्रत्यारोपण २० जनाको मात्रै भएको छ । तेस्रो प्रत्यारोपण भने देशमै पहिलो पटक यही ९ भदौमा भएको थियो । मिर्गौला प्रत्यारोपित चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री हुन् । ‘दोस्रो पटक फेरेको मिर्गौलाले पनि काम गर्न छाडेपछि मैले उपचारकै लागि गत चैतमा राजीनामा दिएँ’ चौधरी भन्छन्, ‘अपरेसनपछि स्वास्थ्य सामान्य हुँदै गएको छ, अब छिट्टै घर फर्किन्छु होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)